|

गत साता कारागारमा ज्यान गुमाएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नी युलियालले लगाएका सबै आरोप निराधार भएको क्रेमलिनले जनाएको छ । नाभाल्नीको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भन्ने आरोप निराधार भएको क्रेमलिनले जनाएको हो।
    

‘निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा भएकाले म कुनै टिप्पणी गर्दिनँ।’

लाखौँ मानिसले अनलाइनमा हेरेको भिडियो सन्देशमा ४७ वर्षीया नाभाल्नीले मुलुकको स्वतन्त्रताका लागि आफ्ना पतिको लडाइँलाई जारी राख्ने वाचा गरेकी छिन्।

पेसकोभले सोमबार युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले नाभाल्नीसँग ब्रसेल्समा आयोजना गरेको वार्तापछि विपक्षी नेता नाभाल्नीको मृत्युको ‘अन्तर्राष्ट्रिय जाँच’ का लागि गरेको ईयूको आह्वानलाई पनि अस्वीकार गरे। ‘हामी सामान्यतया यस्ता मागलाई स्वीकार गर्दैनौँ, खासगरी बोरेलको तर्फबाट भएको मागका सम्बन्धमा’, उनले भने। 

हालैका दिनमा नाभाल्नीको मृत्युको शोक मनाउने कार्यक्रमहरूमा सयौँ रुसीलाई हिरासतमा लिएको बारे सोधिएको प्रश्नमा उनले कानून प्रवर्तन एजेन्सीले कानूनअनुसार काम गरिरहेको प्रतिक्रिया दिए।

नाभाल्नीको मृत्युको केही दिनपछि सोमाबार सङ्घीय दण्डात्मक सेवामा रहेका चार शीर्ष अधिकारीलाई सैन्य आदेशका साथ सुशोभन गर्ने पुटिनको निर्णय ‘आफ्नो मार्गमा चल्ने पदोन्नति प्रक्रिया’ को एउटा हिस्सा भएको पनि उनले बताए।

सन् २०२१ मा कारागार जानुअघि नाभाल्नीले पुटिनविरुद्ध ठूलो स्तरमा विरोध प्रदर्शन गरेका थिए। साइबेरियामा सोभियत युगको नर्भ (स्नायु) एजेन्टले विष दिएपछि उनी जर्मनीमा उपचार गरी रुस फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.