|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको महानगरको टोलीले अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अवलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर महानगरले पत्र पठाएको थियो। महानगरका अनुसार पत्रबाट गर्नु भनेका कामहरू अहिलेसम्म पनि भएका छैनन्। 

‘अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन, संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन, संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्न नै कठिन छ, भएको मेसिन पनि चलेको छैन, यस प्रकारको लापरवाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो,’ अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भने।

उनले स्वास्थ्यसंस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्ने बताए। ‘यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन,’ उनले भने।

अस्पतालको फोहोर व्यवस्थापन अभ्यासको विश्लेषण गर्दै परियारले सामान्यतया निजी अस्पतालहरूको सेवा राम्रो भन्ने गरिन्छ, फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीलेभन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइएको बताए।

‘सरकारीले नै राम्रो गर्नुपर्ने हो, गरिरहेको देखियो,’ उनले भने, ‘गलत गर्नेलाई सरकारी नै भए पनि कारबाहीको दायरामा ल्याइएको छ।’

महानगरपालिकाले यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुक्का हुन्छ।’

आज नै मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ।

अस्पताल फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङ्गका छन्। बिर्कोहरू हरियो, पहेँलो, नीलो राखिएको छ।

अनुगमन समितिको रंग संकेतका बारेमा सोध्दा राष्ट्रिय मापदण्ड कार्यान्वयनमा आउनुअघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयनमा ल्याएकाले यस्तो भएको अस्पतालले जानकारी दिएको महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.