|

काठमाडौँ : रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए। रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो। विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका-२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले थाहाखबरलाई जानकारी दिए।

दलालमार्फत रूस पुगेका मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा रहेका कान्छा भाइलाई जानकारी दिएका थिए। उनकै भाइले मृत्युको खबर घरमा सुनाएका हुन्। मृतक विकको परिवारले आज (बुधवार) कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्तिम संस्कार समेत गरेको वडाध्यक्ष घर्तीले बताएका छन्।

विकको मृत्युको प्रमाणपत्र समेत प्राप्त भएपछि परिवारले अन्तिम संस्कार गरेको हो। मृतक विकको शव ल्याउन परिवारले सरकारसँग गुहार समेत मागेका छन् तर सरकारले अहिलेसम्म यसअघि मृत्यु भएका अन्य १३ जना नेपालीको समेत शव ल्याउन सकेको छैन।

कमजोर कूटनीतिका कारण नेपालले रूससँग औपचारिक रूपमा संवाद समेत अघि बढाउन सकेको छैन। परिवारको जेठा छोराको रूपमा रहेका मृतक विकका दुई छोरी र एक छोरा छन्। योसँगै रूसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १३ पुगेको छ।

यसअघि स्याङ्जाका प्रीतम कार्की, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दनसिंह नागलको मृत्यु भएको थियो। रूसी सेनामै भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको पनि मृत्यु भइसकेको छ।

अझै पनि रूसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन। दलालमार्फत पैसा कमाउने लोभमा अवैध बाटो हुँदै रूस पुग्नेको संख्या २ सयभन्दा माथि रहेको सरकारको दाबी छ। परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएकामध्ये एक सयभन्दा धेरै बेपत्ता रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.