ललितानिवासमा पनि डाेजर चल्दै

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललितानिवास क्षेत्रबाट ७ दिनभित्र आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरिसकेको छ। फागुन ३ मा विशेष अदालत काठमाडौंको फैसलाबाट बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा जफत (सरकारी) भएपछि महानगरपालिकाले खाली गराउन आग्रह गरेको हो।

बुधबार महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दा फागुन ३ मा भएको फैसलाबाट बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ।’

उक्त फैसलाबाट जफत (सरकारी) भएको ललितानिवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

‘अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ।

महानगरपालिकाका नगर प्रहरीहरूले उक्त क्षेत्रमा गई ७ दिनभित्र हट्न माइकिङ पनि गरिसकेका छन्।

             डाेजर चलेकाे अनामनगरकाे सार्वजनिक जग्गा

काठमाडौं महानगरपालिकाले ललितानिवासको सरकारी जग्गा मात्रै होइन‚ पछिल्लो समय भूमाफियाले धमाधम कब्जा गरेका सार्वजनिक जग्गा खाली गरी आफ्नो अधीनमा ल्याउँदै आएको छ। 

महानगरपालिकाले अनामनगरको करिब ११ रोपनी सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि उक्त भवन खाली पत्राचार गरेको थियो तर अटेर गरेपछि महानगरपालिकाले ०३ साउन २०८० मा अनामनगरको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको थियो। अहिले उक्त भवन धमाधम भत्काएर खाली गराइएको छ। 

२०७९ भदौ २९ गते महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएर जग्गा खाली गरायो।महानगरपालिका प्रमुख बालेन साहले सार्वजनिक जग्गा संरक्षणसँगै अतिक्रमित संरचना पनि धमाधम भत्काउन आदेश दिएका छन्।

महानगरपालिकाले असोज ७, २०७९ मा अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाललगायतका अवैध संरचनामा डोजर चलाएर भत्काएको थियो। यसैगरी महानगरपालिकाले मैतीदेवी प्रहरी बिट लगायत अवैध संरचना भत्काएको थियो। 

झण्डै १३ अर्ब बराबरको १५१ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन आएपछि हालसम्म १५१ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, ‘मेयर बालेन आउनुभएपछि १५१ रोपनी सार्वजनिक जग्गा संरक्षण भएको छ।’

उनका अनुसार यो तथ्यांक ६ महिना अघिसम्म अपडेट गरिएको हो। ‘पछिल्लो समयको त कति संरक्षण भयो भन्ने हेर्नैपर्छ, निकालिएको छैन’, उनले भने। उनका अनुसार यी जग्गा चलन चल्तीको मूल्यअनुसार आनाको ४० देखि ५० लाख पर्छ। उक्त हिसाबले १२ अर्ब ८० करोड मूल्य बराबरको सार्वजनिक जग्गा महानगरले संरक्षण गरेको छ।   

२०७९ जेठमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) निर्वाचित भएपछि जेठ १६, २०७९ मा पदभार ग्रहण गरेका थिए। महानगर प्रमुख साहले गत असारमै २०८०।०८१ नीति तथा कार्यक्रममा एक वर्षभित्र गरेका कार्य प्रगति विवरण प्रस्तुत गरे। उनले त्यसबेला चालू आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण भएको बताएका थिए। 

७ दिनभित्र खाली नभए ललितानिवासमा डोजर चल्ने

महानगरपालिकाले ललितानिवासको हकमा पनि तोकिएको समयमा जग्गा खाली नगरे डोजर चलाउने चेतावनी दिएको छ। सूचनामै भनिएको छ, ‘यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानून बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरिन्छ।’

महानगरका नगरप्रहरी प्रमुख पाण्डेले यी तोकिएको समयभित्र खाली नभए ललितानिवासमा डोजर चलाउने बताए। ‘हामीले हट्नका लागि ७ दिनको समय दिइसकेका छौँ। यदि यो समयभित्र नहटे त्यहाँ पनि डोजर चलाउनुको विकल्प छैन’, उनले भने। 

‘मिचिएका सार्वजनिक जग्गा संरक्षणको काम रोकिँदैन’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगर क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले  यी ऐन बमोजिम मिचिएका सार्वजनिक जग्गा संरक्षणमा महानगर लागेकाे र अब पनि निरन्तर लागिरहने जानकारी बताए।  ‘महानगरभित्रको जहाँका सार्वजनिक जग्गा विभिन्न नाममा मिचिएका छन्, निरन्तर डोजर नै चलाएर संरक्षणमा लाग्छौँ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.