|

पर्वत : दादुरा–रुबेलाको खोप अभियान २०८०/०८१ अभियान अन्तर्गत पर्वतका साढे आठ हजार बढी बालबालिकाहरूलाई खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२ जना बालबालिकाहरूलाई दुई चरणमा गरेर खोप अभियान सञ्चालन गर्न लागिएको हो। जसमा मोदी गाउँपालिकाका एक हजार दुई सय ४७ जना, जलजला गाउँपालिकाका एक हजार तीन सय २९ जना, कुश्मा नगरपालिकाका दुई हजार तीन सय २६ जना, फलेवास नगरपालिकाका एक हजार तीन सय आठ जना, महाशिला गाउँपालिकाका पाँच सय ७१ जना, बिहादी गाउँपालिकाका नौ सय ७५ जना र पैयुँ गाउँपालिकाका आठ सय ५६ जना रहेका छन्।

ती बालबालिकाहरूलाई खोप लगाउनको लागि मोदीमा ३२ वटा, जलजलामा ३६ वटा, कुश्मामा ५४ वटा, फलेवासमा ४२ वटा, महाशिलामा २४ वटा, बिहादीमा २३ वटा र पैयुँमा २७ वटा केन्द्रहरू राखिने छन्।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा बिहीबार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूबिच राखिएको संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्सालले जिल्लाको दक्षिण क्षेत्रमा पहिलो र उत्तरी क्षेत्रमा दोस्रो चरणमा खोप अभियान चलाइने बताए।

उनका अनुसार फागुन १३ गतेदेखि १७ गतेसम्म फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका बालबालिकाहरूलाई खोप लगाइने छ भने दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकामा खोप अभियान चल्ने छ।

खोपका लागि स्वास्थ्यकर्मी लगायतलाई अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरेर तयारी अवस्थामा राखिएको तथा खोपका लागि आवश्यक चिस्यान सहितको व्यवस्थापन गर्दै पालिका अनुसार आवश्यक पर्ने ‘डोज’ को परिमाण वितरण गरिसकिएको छ।

नियमित रूपमा लगाउनुपर्ने खोपहरू डिपिटी हेप बी हिब, पिसिभी र आइपिभी खोपहरू छुटेका बालबालिकाहरू पाइएमा उनीहरूलाई ती खोपहरू पनि यही अभियानमा दिइने छ। ‘हामीले खोप अभियानको लागि सबै तयारीहरू पूरा गरेका छौँ। यसलाई सन २०१९ मा उन्मूलन गर्ने भनिएको भए पनि सन २०२३ हुँदै अन्तिम लक्ष्य सन २०२६ सम्म पुगेको छ’, लम्सालले भने, ‘कतिपयमा लगातार चार/पाँच वर्ष लगाउँदा पनि प्रतिरक्षा प्रणालीमा राम्रो विकास भएको पाइएको छैन। उनीहरू सहित पहिले छुटेका सबैलाई पनि यसमा समेट्ने गरी योजना बनाएका छौँ।’

वि.सं. २०६० सालपछि १३ वटा रोगविरुद्ध नियमित खोप अभियान चलाइएको बताउँदै उनले सन २०१० देखि पोलियोको र सन २००५ देखि धनुष्टङ्कार नियन्त्रणमा रहेको जानकारी दिए।

गण्डकी प्रदेशमा दादुरा–रुबेलाको संक्रमण नदेखिएको भनेर चर्चा भइरहेको बेलामा गत माघमा तनहुँमा यसको संक्रमण देखिनुले सबै जना सचेत हुनुपर्ने बेला आएको उनको भनाई छ। एक जनाबाट १८ जनासम्ममा रोग सर्न सक्ने भएकोले खोप लगाउने कुरामा कसैले पनि हिचकिचाउन नहुने उनले सुझाए।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले गण्डकीमा प्रदेशमा सङ्क्रामक रोगको रूपमा दादुरा–रुबेला रहेको भन्दै यसको खोप दिने व्यवस्था विगतदेखि नै नभएको भए अवस्था कोभिड–१९ को जस्तै हुन सक्ने उल्लेख गरे। धेरै वर्ष पहिलेदेखि बालबालिकाहरूलाई दादुराविरुद्धको खोप दिइएका कारण नै अहिले दादुराका कारण मृत्यु भएको नदेखिएको र यही अवस्थामा ढुक्क भएर बस्न नहुने उनको तर्क छ।

खोप लगाएपछि खोप ‘रियाक्सन’ को रूपमा केही लक्षण देखिन सक्ने डरले कतिपय खोपबाट भाग्ने गरेको अवस्थाबारे जानकारी गराउँदै उनले एकछिनको ‘रियाक्सन’ को डरमा शरीरलाई नै खतरामा पार्ने काम नगर्न सम्बन्धी सबैमा अनुरोध गरे।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुरामविकले स्वास्थ्यप्रति सचेत रहेका, सूचनाका बारेमा थाहा पाएका र सचेत वर्गले खोजी खोजी खोप लगाउने भए पनि अस्थायी रूपमा डुल्दै आएका, सडक वा अन्य क्षेत्रमा मजदुरीको काम गरिरहेका, कुनाकाप्चामा रहेका बस्तीका बालबालिकाहरू छुट्न सक्ने भएकाले उनीहरूको खोजी गरेर यसमा समावेश गर्नुपर्ने बताए।

खोप लगाएपछि सामान्य रूपमा खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, ज्वरो आउन सक्ने, जोर्नीको दुखाई हुन सक्ने, डाबर देखिने र यसमा आत्तिनु नपर्ने चिकित्सकहरूले बताएका छन्। खोपको ‘रियाक्सन’ को बारेमा अवलोकन गर्नकै लागि खोप लगाएका बालबालिकाहरूलाई आधा घण्टासम्म खोप केन्द्रमा नै राखेर अवलोकन गर्नुपर्ने भनिएको छ। खोपको गम्भीर असरको रूपमा एन्सेफलाइटिस प्लेटलेट कम हुने, एनाफाइलेक्सिस, कम्पन ज्वरो देखिन सक्ने भए पनि नेपालमा भने अहिलेसम्म यो नदेखिएको उनीहरूले जानकारी दिए।

गम्भीर रूपमा देखा पर्ने असहरुको नियन्त्रणको लागि सम्बन्धित  खोप केन्द्रमा नै उपचारको लागि आवश्यक औषधिहरूको व्यवस्था हुने भएकाले कोही पनि आत्तिनु नपर्ने चिकित्सकहरूको भनाइ छ। दादुरा आउँदा ज्वरो आउने, खोकी लाग्ने, पातलो सिँगान बग्ने, आँखा रसिलो हुने र शरीरमा रातो दाग देखिने लगायतका लक्षणहरू देखा पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.