|

दैलेख : दैलेखमा २४ हजार बढी बालबालिकाहरूलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ। बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ वटा स्थानीय तहका २४ हजार ५ सय ८१ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धका खोप लगाउने भएको हो।

दादुरा–रुवेला खोप अभियानअन्तर्गत जिल्लाभरका ९ महिनादेखि पाँच वर्षसम्मका २४ हजार ५ सय ८१ जना बालबालिकालाई यही फागुन १३ गतेदेखि २३ गतेसम्म दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि २ सय ७७ खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए।

जिल्लाका ११ स्थानीय तह गुराँस, डुंगेश्वर, भगवतिमाई, नौमूले, नारायण, महावु, भैरवी, दुल्लु, चामुण्डाविन्द्रासैनी, ठाँटीकाँध र आठबीसमा यहीँ फागुन १३ गतेदेखि २३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा २ सय ५० खोपकर्मी, ९० जना स्वास्थ्य चौकी इन्चार्ज र ५ सय स्वयंसेवक परिचालन हुनेछन्।

बालबालिकाका लागि दादुरा–रुवेला विरुद्धको खोप सुरक्षित रहेको बताउँदै जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत रेग्मीले यसको मुख्य उद्देश्य बाल मृत्यु दर घटाउनु रहेको बताए।

उनले नजिकका खोप केन्द्रमा उपस्थितभई आफ्ना ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई खोप लगाउन सबैलाई आग्रह गरे।

रेग्मीले कुनै पनि देशको अवस्था बाल मृत्यु दर लगायत चार वटा कुराले जनाउने भएकाले दैलेखमा पूर्ण खोप लगाउने एक सय प्रतिशत रहेको बताए। रेग्मीले भने, ‘दैलेखका पूर्ण खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ। दादुरा–रुवेला विरुद्धको खोप बालबालिकालाई लगाउन आग्रह गर्छु।’

कुन स्थानीय तहमा कतिलाई खोप?

यही फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला विरुद्धको खोप अभियानमा खोप लगाउने २४ हजार ५ सय ८१ जना बालबालिका मध्ये नौमूले गाउँपालिकामा २७ वटा खोप केन्द्रबाट २ हजार १५ बालबालिकाले खोप लगाउने छन्।

महावुमा सञ्चालन १८ वटा खोप केन्द्रबाट १ हजार ७ सय ४३, भैरवी गाउँपालिकामा सञ्चालन हुने २१ वटा खोप केन्द्रबाट १ हजार ७ सय ३६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।

ठाँटीकाँधमा सञ्चालन हुने १८ खोप केन्द्रबाट २ हजार ५१ जना बालबालिकाले खोप लगाउनेछन्। आठबीस नगरपालिकामा २ हजार ५१ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको छ। आठबीसमा २७ वटा खोप केन्द्रबाट सञ्चालन हुनेछन्। 

चामुण्डाविन्द्रासैनी नगरपालिकामा २ हजार ८ सय २२ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको खोप अधिकृत रेग्मीले बताए। चामुण्डाका २७ खोप केन्द्रबाट सो सङ्ख्यामा बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने जनाइएको छ। 

यस्तै, यहाँका ११ वटा स्थानीय तह मध्ये दुल्लु नगरपालिकाका सबैभन्दा बढी बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइनेछ। दुल्लुमा ३९ खोप केन्द्रबाट ३ हजार ७ सय ४४ बालबालिकालाई खोप लगाइनेछ।

नारायण नगरपालिकामा ३३ खोप केन्द्रबाट २ हजार १ सय ७ जना, भगवतीमाई गाउँपालिकामा २१ खोप केन्द्रबाट १ हजार ८ सय ३५ जना, डुंगेश्वर गाउँपालिका १८ खोप केन्द्रबाट १ हजार २ सय ४६ जना र गुराँसमा २८ वटा खोप केन्द्रबाट १ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.