|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुन्छु’ भन्दै हल्ला गरेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हँसाएको टिप्पणी गरेका छन्।

बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा उनले माधव नेपालको नाम नलिई ‘आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु’ भन्दै हिँडेको र उनका समर्थकहरुले ताली बजाएकोमा आफू चकित परेको पनि बताए। 

संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ भन्दै अध्यक्ष ओलीले प्रश्नसमेत तेर्स्याए। उनले संविधान, कानून कता छ, संसदमा के छ भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर हल्ला गर्दै हिँड्ने गरेकाले देशमा व्यवस्थाविरोधी अराजक गतिविधि बढिरहेको ब्यंग्यसमेत गरे।

‘कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु, अगाडि बसेका मान्छेहरु हो हो भनेर प्याटप्याट गर्छन्। संविधान कता छ? कानून कता छ? संसद के छ? केही थाहा छैन‚’ उनले भने, ‘एउटा मान्छे कराउँछ– म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर। कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ? के बोल्दैछु उसलाई थाहा छैन।’

अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दावी पनि गरे। 

उनले सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोपसमेत लगाए। त्यस अवसरमा अध्यक्ष ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दावीसमेत गरे। 

‘पार्टी सुदृढ भएर यस ठाउँमा आएको छ। आम कार्यकर्ता र दोस्रो तहका नेता र कार्यकर्ताहरुले पार्टी बचाउनु भयो‚’ उनले भने‚ ‘अहिले पनि हाम्रा विरोधीहरु षड्यन्त्र गरिरहेका छन्। तिनका षड्यन्त्रका एउटा एउटा टुसा पलाउँदै छन्। त्यसैबेला ती टुसा भाँचिदिनुपर्छ। देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा‚ एमालेले एकल बहुमत ल्याउँछ। बहुमतको सरकार बनाउँछ २०८४ मा।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.