|

काठमाडौँ : विश्व बैंकले दुई परियोजनाका लागि २६ अर्ब ५१ करोड रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ।

विश्व बैंकको कार्यकारिणी समितिको आज (शुक्रवार) को बैठकले सो निर्णय गरेको हो। उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मतसम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

“विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ। विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने।

वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये १ सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब २५ करोड रुपैयाँ) रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ।

प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ। १ सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब २५ करोड रुपैयाँ) रकम भने प्रादेशिक (मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश)  र स्थानीय सडक पूर्वाधारको मर्मतसम्भारमा खर्च हुनेछ।

त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.