नेदरल्याण्ड्स ६ विकेटले पराजित

|

काठमाडौँ : नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा स्थान बनाएको छ। शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएसँगै मंगलबार हुने फाइनलमा नेपाल पुग्ने लगभग पक्का जस्तै भएको छ। 

जितसँगै नेपालको ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ। 

नेपालसँगको हारका बाबजुद पनि नेदरल्याण्ड्सको ४ अंक नै छ। नेदरल्याण्ड्सले शुरुका २ खेल जितेको थियो भने तेस्रो खेलमा शनिबार नेपालसँग हार्न पुग्यो। 

नामिबियाले पहिलो खेलमा नेपाललाई हराए पनि त्यसपछि खेलेका नेदरल्याण्ड्स र नेपालसँगको खेलमा नामिबिया हार्न पुगेको थियो। नामिबियाको भने २ अंक छ।

आइतबार नेदरल्याण्ड्सले नामिबियासँग खेल्नेछ।

रनरेटमा नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। उसको ०.३१० छ भने नेपालको ०.२९३ छ।

नामिबियाको रनरेट माइनस ०. ७०० छ। नामिबियालाई फाइनलमा पुग्न भारी अन्तरले आइतबार नेदरल्याण्ड्सलाई हराउनैपर्छ र सस्तैमा रोक्नुपर्छ।

यस्तोमा नेदरल्याण्ड्स आउट हुनसक्छ जसका कारण नेपालको रनरेट थपघट नहुने हुँदा फाइनलको बाटो बन्न सक्छ। 

यसैगरी नामिबियालाई नेदरल्याण्ड्सले हराएको खण्डमा भने सहजै नेदरल्याण्ड्स विजेता र नेपाल उपविजेता भएर फाइनलमा पुग्नेछ। शीर्ष २ स्थानमा रहने टोलीबीच मंगलबार फाइनल खेल हुनेछ। 

शनिबार नेदरल्याण्ड्स ६ विकेटले पराजित 

नामिबिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ।

सिरिजको अघिल्लो खेलमा नेदरल्याण्ड्ससँग बेहोरेको २ रनको हारको बदला नेपालले लिएको छ। नेपालका लागि कप्तान रोहित पौडेलले ४६ रनको योगदान दिए। ३४ बलमा ३ चौका र १ छक्का हानेका रोहित भिभियन किङमाको बलमा नोउ कोरिजबाट क्याच भए। 

उनले तेस्रो विकेटका लागि गुल्सन झासँग ८६ रनको साझेदारी गरेका थिए। गुल्सन आर्यन दत्तको बलमा ३८ रनमा आउट भए। उनले ३६ बलमा २ चोका र १ छक्का हाने। दीपेन्द्र सिंह ऐरी ४ तथा कुशल मल्ल २ रनमा नट आउट रहे। 

यसअघि ओपनर कुशल भूर्तेल १२ रनमा तथा आशिफ शेख ८ रनमा आउट भएका छन्। उनीहररूले २६ रनको साझेदारी गरेका थिए। 

भूर्तेलले १ चौका र १ छक्काको मद्दतमा १२ रन बनाउँदा आशिफले १ चौका हानेका थिए। दुबै जना डच खेलाडी भिभिएन किङ्माको बलमा आउट भए।

किङमाले तेस्रो ओभरमा २ विकेट लिएका हुन्। २.३ ओभरमा भूर्तेल भान डर गुटेनबाट क्याच हुँदा २‍.५ ओभरमा बोल्ड भए। 

यसअघि किर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा १२० रनमै समेटिएको थियो। 

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डउडले ३१, टिम भान डर गुगटेनले २४, कप्तान स्कट इड्वार्डस्ले १८ रन बनाए भने रोएलोफ भान डस मेर्वी २३ रनमा अविजित रहे। अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 

साईब्रान्ड इन्जेलब्रेन्च्ट, आर्यन दत्त र केले क्लेन शून्य रनमै पाभेलिएन फर्के। माइकल लेविट र भिभिएन किङ्माले ४–४ रन बनाउँदा तेजा निदामानुरुले ५ रन मात्र जोडे।  

नेदरल्याण्ड्सलाई १२० रनमै समेट्न प्रतिश जिसीले ३ विकेट लिँदा कुशल मल्ल र करण केसीले २–२ विकेट लिए। अर्को एक विकेट दीपेन्द्र सिंह ऐरीको नाममा रह्यो। 

मल्ल, प्रतीश र करणले एउटै ओभरमा २–२ विकेट लिएका थिए। फाइनलमा पुग्न नेपालका लागि निर्णायक मानिएको खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएर दबाव राख्यो। 

कुशल मल्लले १० औँ ओभरमा २ विकेट लिएपछि नेदरल्याण्ड्स झन् अफ्ठेरो पर्‍यो। 

२ दिनअघि नामिबियाविरुद्ध २४७ रन बनाएको नेदरल्याण्ड्सका लागि शनिबार नेपालविरुद्ध रन बनाउन धेरै गाह्रो पर्‍यो। 

मल्लले ९.५ ओभरमा नोय क्रोयसलाई ३ रनमा अविनाश बोहोराबाट क्याच गराए  भने ९.६ ओभरमा आर्यन दत्तलाई शून्य रनमा आउट गराए। 

त्यसअघि खेलको ९ औँ ओभरमा प्रतीश जिशीले २ विकेट लिएपछि नेदरल्याण्ड्स सुस्ताएको थियो। उनले ८.१ ओभरमा कप्तान स्कट एडवार्डलाई १८ रनमा तथा ८.५ ओभरमा म्याक्स ओ’ डउडलाई ३१ रनमा बोल्ड आउट गरे। आउट हुनुअघि तेस्रो विकेटका लागि स्कट र क्याक्सबीच ५० रनको साझेदारी भएको थियो। 

यसअघि नेपालका तीव्र गतिका बलर करण केसीले नेदरल्याण्ड्सका सुरुवाती दुई ब्याटरलाई पहिलो ओभरमै आउट गरेका थिए। 

करणले ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए। उनले चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए। यस्तै उनको छैटौं बलमा सिब्रान्ड एंगलब्रेक्ट आशिफ शेखबाट क्याच आउट भए। 

शुरुमै विकेट लिएपछि दबावमा आएको नेदरल्याण्ड्सलाई कप्तान स्कट र म्याक्सले सम्हाल्दै लगेका थिए। दीपेन्दसिंह ऐरीलेले १८ औँ ओभरको चौथो बलमा टिम भ्यान डेर गुटेनलाई २४ रनमा आउट गरे। 

यस्तै गुल्सन झाले कैले केलिनलाई शून्य रनमा रन आउट गरे। भिभियन किङ्मा पनि ४ रनमा रन आउट भएका थिए।  


प्रतिशले लिए ३ महत्त्वपूर्ण विकेट 

त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालका प्रतिश जिसीले नेदरल्याण्ड्सबिरुद्ध ३ विकेट लिएका छन्। खेलको म्यान अफ दि म्याच प्रतिशले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्। त्यस क्रममा उनले मात्र १३ रन खर्चिए। 

उनले १५ औँ ओभरको तेस्रो बलमा तेजा निदामानुरुलाई ५ रनमै बोल्ड गरेका थिए। त्यसअघि खेलको ९ औँ ओभरमा प्रतीश जिशीले २ विकेट लिएपछि नेदरल्याण्ड्स सुस्ताएको थियो। 

उनले ८.१ ओभरमा कप्तान स्कट एडवार्डलाई १८ रनमा तथा ८.५ ओभरमा म्याक्स ओ’ डउडलाई ३१ रनमा बोल्ड आउट गरे। आउट हुनुअघि तेस्रो विकेटका लागि स्कट र क्याक्सबीच ५० रनको साझेदारी भएको थियो। 

प्रतीशले नेदरल्याण्ड्सविरुद्ध देशका लागि महत्त्वपूर्ण विकेट लिन पाउँदा आफूलाई धेरै खुसी लागेको बताए। ‘जसरी भए पनि जित्नैपर्ने थियो’, उनले भने‚ ‘म त सधै उही तरिकाले खेलिरहेको हुन्छु, फरक यति मात्र हो कि कहिले बलिङ राम्रो चल्छ त कहिले चल्दैन।’

दीपेन्द्रले बनाए टी–२० मा सर्वाधिक २४ ‘क्याच’ को कीर्तिमान

दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक २४ ‘क्याच’ को राष्ट्रिय कीर्तिमान बनाएका छन्।  

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्विरुद्धको खेलका क्रममा एउटा क्याच गरेसँगै नेपालको टिमबाट सबैभन्दा धेरै २४ क्याचको कीर्तिमान बनाएका हुन्। उनले ५७ अन्तर्राष्ट्रिय टी–२० ‘म्याच’ खेलिसकेका छन्। उनीपछि कुशल भुर्तेलले २३ क्याच गरेका छन्।

यसैगरी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले समेत नेपालका लागि समान २३ क्याच लिएका छन्। यसैगरी सोमपाल कामीले २२ क्याच लिँदा कप्तान रोहित पौडेलले २० र सन्दीप लामिछानेले १९ क्याच लिएका छन्।

ऐरीले नेपालका लागि ब्याटिङतर्फ १४७१ रन बनाएका छन् भने बलिङतर्फ २८ विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.