|

काठमाडौं : काठमाडौंका सुमन शर्मा (परिवर्तित नाम) करिब एक वर्षदेखि रोजगारीको सिलसिलामा दुबईमा छन्। तर यहाँ उनकी श्रीमती भर्खरै गर्भवती भएकी छिन्, आफ्नै श्रीमानको शुक्रकिटबाट।

​सुन्दा अचम्म लागे पनि यो वास्तविक कुरा हो। छुट्टीमा घर आउँदा उनीहरूले सन्तान जन्माउने योजना बनाए तर भएन। भनेको समयमा बच्चा नबसे पछि शर्मा दम्पती परीक्षणका लागि थापाथलीस्थित प्रसूतिगृह पुगे। चिकित्सकलाई समस्या बताए।

परीक्षणपछि चिकित्सकले शर्मा दम्पतीको स्वास्थ्यमा खासै समस्या नरहेको तर प्राकृतिकरूपमा बच्चा बस्न कम समय  भएको मात्रै बताइदिए। यही बिचमा चिकित्सकले श्रीमान्-श्रीमती लामो समय सँगै बस्न नमिल्ने भए श्रीमानको शुक्रकिट ‘फ्रिजिङ’ गरेर राख्न मिल्ने र आफूले चाहेको समयमा बच्चा बनाउन मिल्ने उपाय रहेको समेत बताइदिए।

चिकित्सको सल्लाह मानेर सुमनले आफ्नो शुक्रकिट थापाथली अस्पतालमा नै झिकेर फ्रिजमा राखेर दुबई उडे।  उनको यही शुक्रकिटको माध्यमबाट हाल यहाँ श्रीमती चार महिनाकी गर्भवती छिन्।

ललितपुरकी ३५ वर्षीया बबिता थापा (परिवर्तित नाम ) का श्रीमान् ८ महिनादेखि कतारमा छन्। तर यहाँ बबिता दुई महिनाकी गर्भवती छिन्। यो दम्पतीले पनि प्रसूति गृहमा प्रजननको संरक्षण अर्थात् फर्टिलिटी फ्रिजिङ केन्द्रमा आफ्नो शुक्रकिट फ्रिज गरेर राखेका  थिए ।

श्रीमान् नभएको समयमा कसरी गर्भवती भइन् भनेर छिमेकीले कुरा काट्ने गरेका छन्। तर उनी भने ढुक्कसँग आफ्नो सन्तान पेटमा हुर्काइरहेकी छिन्। हरेक दिन श्रीमानले उनको स्वास्थ्य अवस्थाको बारेमा फोनमा सोधिरहन्छन्।

यी दुई दम्पतीले मात्रै होइन अहिले प्रसूति गृहमा रहेको फर्टिलिटी फ्रिजिङ केन्द्रमा १५ दम्पतीका श्रीमानले शुक्रकिट ‘फ्रिज’ गरेर राखेका छन्। यही कारणले यी दम्पतीले चाहेकै समयमा बच्चा जन्माउन पाउने प्रसूति गृहकी इम्ब्रोलोजिष्ट डा.विनिता थापाले बताइन्। ‘क्रंकिट फ्रिजिङ गरेर राख्न मिल्ले व्यवस्थाको सेवा शुरु गरेको पाँच महिना मात्रै भयो’, उनले भनिन्, ‘१५ दम्पतीले यो सेवा लिइसकेका छन्।’

वैदेशिक रोजगारीमा जाने दम्पतीको लागि वरदान

पछिल्ला वर्ष प्रजनन् उमेर समूहका धेरै युवा रोजगारीको सिलसिलामा खाडी सहितका देशमा पुग्ने गरेका छन्। तापक्रम उच्च भएका खाडी सहितका देशमा लामो समय बसेर आउँदा युवाको प्रजनदर नै घट्दो अवस्थामा रहेको छ। तापक्रम अधिक हुने र यस्तो ठाउँमा लामो समय सम्म बस्दा शुक्रकिटको गति कम हुने र अन्यमा शुक्रकिटको उत्पादननै शून्य हुने हुँदा पुरुषमा बाँझोपनको समस्या बढेको छ।

यसरी लामो समयसम्म विदेशमा बस्नेहरूका लागि शुक्रकिट फ्रिज गर्दापछि सन्तान सुख लिन सजिलो हुने इम्ब्रोलोजिस्ट डा. थापाको भनाइ छ। ‘वैदेशिक रोजगारीका लागि जाने धेरै युवा तापक्रम अधिक भएको ठाउँमा जाने कामदार धेरै छन्। उहाँहरूको जीवनशैली पनि त्यस्तै हुन्छ। लामो समयसम्म काम गर्ने, खानपान मिलिरहेको हुँदैन। उहाँहरुमा तनाव पनि बढी हुन्छ। जसले गर्दा पुरुषको प्रजनन क्षमतालाई विशेषगरी शुक्रकिटको गुणस्तरमा असर पुर्‍याइरहेको  हुन्छ’, उनी भन्छिन्, ‘अनि घर आएर विवाह गरेर पछि सन्तान जन्माउने वेलामा शुक्रकिटको गुणस्तरनै कमजोर हुन्छ। तर यसरी बेलैमा आफ्नो शुक्रकिटलाई सुरक्षित राखेर राख्दा धेरै सजिलो हुन्छ।’

फ्रिज गरेको शुक्रकिटबाट यसरी हुन्छ गर्भाधान

श्रीमान्-श्रीमती सँगै नभएको अवस्थामा यसरी फ्रिजिङ  गरेर राखेको शुक्रकिटलाई आफूले बच्चा बनाउन चाहेको समयमा प्रयो गर्न सकिन्छ।  यो प्रक्रियामा महिनावारी भएको केही दिनपछि उत्कृष्ट खालको शुक्रकिटलाई छानेर महिलाको पाठेघरमा सिधै लगेर राखिन्छ, जसलाई चिकित्सकिय भाषामा ‘आईयूआई’ भनिन्छ। आईयूआई भनेको पुरुषको वीर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब ३५ प्रतिशतमा सफल हुन्छ र तीनपटकसम्म गर्न सकिन्छ।

निर्देशिकामा १५ देखि २०० मिलिएन पर एमएललाई सामान्य भनिएको छ। त्यो कुरा पनि वीर्य जाँचका क्रममा मोर्फोलोजी (आकार) हेरिन्छ। शुक्रटिको  टाउको, घाँटीको मोटाइ, पुच्छरको आकार सामान्य हुनुपर्छ। घाँटी र टाउको जोडिने ठाउँ केन्द्रमा हुनुपर्छ। टाउको धेरै ठूलो वा सानो हुनु हुँदैन। यो सबै छुट्याएर बाँकी रहेको शुक्रकिट ४ प्रतिशतभन्दा बढी आवश्यक पर्छ।

अर्को शुक्रकिटको भाग्ने क्षमता पनि हेरिन्छ। ४२ प्रतिशत भाग्ने क्षमतालाई भएको हुनु पर्छ। आईयूआई गर्न ३० प्रतिशत ‘अन प्रोसेस स्याम्पल’मा ‘मोलाइस्ट स्पर्म’ चाहिन्छ। यदी ५ मिलियन काउण्ट भएको छ भने गतिशीलता (मोटिलिटी) बढी र आकार (मोर्फोलोजी) राम्रो चाहिन्छ।

क्रकिट फ्रिजङ गर्न कति खर्च लाग्छ?

पछिल्लो केही वर्षयता युवा विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको अवस्थामा यसरी शुक्रकिट फ्रिज गरेर राख्दा भविष्यमा सन्तान नहुने समस्या भोग्नु नपर्ने इम्ब्रोलोजिस्ट डा. थापा बताउँछिन्। पाँच महिनाअघि थापाथली अस्पतालमा शुरु भएको यो सेवा लिन हरेक महिना जम्मा ३ हजार शुल्क लाग्ने थापा बताउँछिन्। ‘ अहिले पुरुषको शुक्रकिट मात्रै फ्रिज गरेर राख्न मिल्ने सेवा शुरु गरेका छौँ। यसका लागि हामी महिनाको ३ हजार रुपैयाँ  शुल्क लिन्छौँ’, उनले भनिन्, उनले भनिन्,‘छिटै महिलाको पनि अण्डा फ्रिजिङ गरेर राख्न मिल्ने सेवा शुरु गर्न हामीले तयारी गरिरहेका छौँ।’

बढ्दो छ शुक्रकिट कम हुने समस्या

सानै उमेर देखि धूमपान गर्ने, जंकफूड धेरै खाने तथा अव्यवस्थित  जीवनशैली भएका पुरुषमा २०/२२ वर्षमै शुक्रकिट शून्य हुने विज्ञ बताउँछन्। भविष्यमा नि:सन्तान हुने समस्याबाट छुटकारा पाउन पनि परीक्षण गरेर शुक्रकिट फ्रिज गरेर राख्न सकिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्वाला थापा बताउँछिन्।

‘धूमपान गर्ने, जंकफूड धेरै खाने तथा अवस्यस्थित जीवनशैली भएका पुरुषहरुको पनि प्रजनन क्षमता घट्दो अवस्थामा देखिन्छ यस्ता युवाहरुमा २०/२२ बर्षमै शुक्रकिटको उत्पादनमा कम हुने भएपनि गुणस्तरीय नहुने समस्या बढ्दो छ’, उनले भनिन्, ‘यो पनि पछिल्लो समय नि:सन्तानपनको समस्या बढ्नु कारण हो त्यसैले यस्ता जोखिम समूहमा रहेका युवाले पनि एकपटक आफ्नो शुक्रिटको अवस्था परीक्षण गरेर शुक्रकिट सुरक्षित राख्न सक्नु हुन्छ।’

नेपालमा हाल निःसन्तान हुने कुल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ। पहिले २० प्रतिशत रहेको थियो। यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको पाइएको छ। १० प्रतिशत बाँझोपनको कारण खुल्न सकेको छैन।

बाँझोपनको ​मुख्य कारणमा पुरुषको शुक्रकिटमा कमी, गतिशीलतामा कमी, यसमा भएको खराबी र आपूर्ति कमी हुनु हो। महिलामा पाठेघरको नलीमा समस्या, हर्मोनको गडबडी लगायत समस्या हुने गरेको स्त्रीरोग विशेषज्ञ डा. थापाको भनाइ छ।

अहिले फर्टिलिटी फ्रिजिङको स्पष्ट कानून नभए पनि बिरामीलाई काउन्सलिङ गरेर विश्वासको आधारमा सेवा दिइरहेको इम्ब्रोलोजिष्ट थापा बताउँछिन्। ‘हाम्रोमा फर्टिलिटी फ्रिजिङको स्पष्ट कानून पनि छैन। अर्कोतर्फ यो सेवा नयाँ भएकाले शुरुमा कन्भिन्स गराउनै धेरै समय लाग्छ’, उनी भन्छिन्, ‘हाम्रोमा १० दम्पतीलाई यसबारे बुझाउँदा एकजनाले मात्रै सेवा लिएका छन्।’

पछिल्लो केही वर्षयता युवा विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपन बढेको चिकित्सक बताउँछन्। पछिल्लो समय ग्रामीण तहमा बाँझोपनको समस्या बढेको छ। केही वर्षयता युवा विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढेको चिकित्सक बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.