|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन्।

आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए। उनले बैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल गिराउने काम गरिरहेको दाबी गरे।

गभर्नर अधिकारीले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, कारबाही गर्ने समूहलाई तत्काल सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए। उनले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे।

नले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए। उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुरा कमजोर हुँदै जाने अवस्था रहेको बताए। उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए। उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनपर्ने माग गरे। उनले कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताए।

अधिकारीले भने, ‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र सचिवहरूसहित बसेर छलफल गरिरहेका छौं। यो अराजकता रोक्न सकेनौं भने सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छैन। यसले बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ। बैंकिङ क्षेत्र र नियमन निकाय कमजोर बनाएपछि अन्य कुरा कमजोर हुँदै जान्छ। अर्थतन्त्र कमजोर हुँदै जान्छ। जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुनसक्छ।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरूलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरू आतंकित हुनुपर्ने अवस्था नभएको बताए। उनले केन्द्रीय अनुसन्धान ब्यूरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए।

उनले राष्ट्र बैंकले बैंकमा भएको अनियमितताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए। उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए।

उनले बैंकर्सहरू दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानूनअनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले केही साथी पक्राउ परे भन्दैमा बैंकर्सहरू आंतकित हुन नहुने बताए। उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने भएकाले स्रोतको दुरुपयोग हुने गरी कसैले पनि रकम चलाउन नहुने धारणा राखे।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे। उनले बैंकहरूको खराब कर्जा बढ्नमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला, ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्ति र असम्भव आश्वासन भएको दाबी गरे। यसको असर प्रत्यक्ष रूपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.