|

हेटौँडा : केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा पनि सरकार फेरबदल हुने भएको छ। यसअघि कांग्रेस-माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो। 

हाल बाग्मतीमा माओवादी नेतृत्वको सरकार छ। बागमती प्रदेशमा मुख्यमन्त्री नफेरिने भए पनि मन्त्रीहरु भने फेरिने देखिएको छ। गत पुस १० मा बनेको गठबन्धनअनुसार बनेको बागमती प्रदेश सरकारपछि कांग्रेसहितको गठबन्धन बन्दा फेरबदल भएका थिए। 

बागमती प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। अहिलेको अवस्थामा बागमती प्रदेशमा एमाले र माओवादीसहितका नयाँ सत्ता साझेदार दलहरू मिल्दा पनि सरकार बनाउन भने अन्य दलको समर्थन आवश्यक पर्ने हुन्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश निर्वाचन प्रक्रियामा भाग लिएको थिएन। गठबन्धनमा एमाले र माओवादीसहित जसपालगायत छन् तर बागमती प्रदेशमा पनि जसपाका सांसद शुन्य छ। ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सीट चाहिन्छ। बागमतीमा कांग्रेस ३७ सीटसहित पहिलो दल हो। दोस्रो दल एमालेसँग २७ सीट छ । 

माओवादीसँग २१, एकीकृत समाजवादीसँग सात, राप्रपासँग १३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग तीन र हाम्रो नेपाल पार्टीसँग २ सीट छ। 

बागमतीमा एमाले–माओवादी मिले ४८ सांसदमात्रै पुग्छ। जसकारण बागमती प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एकिकृत समाजवादी वा अन्य दल चाहिन्छ। 

राप्रपा र नेकपा एसले भने सरकारमा सहभागी हुने वा नहुने भन्ने विषमा कुनै निर्णय लिएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले राप्रपाले तत्काल निर्णय नलिने बताएका छन्। 

‘पहिला पनि हामी छोटो समयसम्म सरकारमा रह्यौँ। त्यतिबेला केटाकेटी जस्तो पारा मात्रै भयो’, उनले भने, ‘त्यसकारण हामी ‘अहिले वेट एण्ड सी’मा छौँ। हेरौँ पछि के हुन्छ।’ थापाले माओवादी नेतृत्वको सरकारलाई बागमतीमा समर्थन हुने अवस्था नभएको समेत जिकिर गरे।

यता नेकपा एसका सांसद रमा आले मगरले पनि बागमतीमा नयाँ सरकार बनाउने विषयमा कुनै निर्णय लिइ नसकेको बताइन्।

‘सरकारमा भन्दा पनि सरकार बाहिर बसेर जनताको आवाज उठाउने पक्षमा हामी छौँ। त्यसकारण हामीले बागमती प्रदेशमा कुनै निर्णय लिइसकेका छैनौँ। उनले भनिन्, ‘यो विषयमा हामी छलफल गरेर मात्रै निर्णय लिन्छौँ।’

कांग्रेसले तत्काल निर्णय नलिने 

यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भएका रामकृष्ण चित्रकारले भने बागमती प्रदेशमा अहिल्यै सत्ता समिकरण फेरबदल भइनहाल्ने बताएका छन्। 

केन्द्रको प्रभाव प्रदेशमा नपर्ने भन्दै बागमती प्रदेशका कांग्रेस संयमित भएर अघि बढ्ने बताए। ‘केन्द्रमा सत्ता समिकरण भइहाल्यो भन्दैमा प्रदेशमा पनि हुन्छ भन्नेमा हामी छैनौँ। केन्द्रको प्रभाव प्रदेशमा पर्दैन’, उनले भने, ‘यो विषयमा नेपाली कांग्रेस संयमित भएर अगाढि बढ्छ।’ 

नयाँ सत्ता समिकरण फेरिने भएपछि बागमती कांग्रेसले नयाँ रणनीति पनि अपनाउने तयारी गरेको छ। राप्रपालाई मुख्यमन्त्रीको प्रस्ताव दिएर भए पनि नेकपा एससहित सरकार बनाउने सम्भावना हुने कांग्रेसका एक सांसदले जानकारी दिए। यद्यपि यो विषयमा भने छलफल नभइनसकेको उनकाले भनाइ छ । 

केन्द्रको निर्णय कुर्दै एमाले 

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रकै निर्देशन अनुसार अघि बढ्ने जानकारी दिए। एमालेले बागमतीमा मुख्यमन्त्री लिने वा मन्त्रीहरुको नाम टुंगो लगाउने विषय केन्द्रको निर्देशन अनुसार एकदुई दिनभित्रै छलफल गरेर निर्णय गर्ने नेता थपलियाको भनाइ छ। 

सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेत रत्न ढकालले प्रदेशमा एमाले र माओवादीको समर्थनले सरकार नबन्ने हुँदा नेकपा एकिकृत समाजवादीसहितको सरकार बन्ने सम्भावना भएको बताए।

ढकालका अनुसार नेकपा एसले सरकार छाढ्ने विषयमा कुनै निर्णय लिई नसकेको हुँदा बागमती प्रदेशमा नेकपा एससहितको सरकार बनेर जाने सम्भावना भएको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.