काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद रहेको बताएका छन्।
उनले सोमवार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्ने बताए।
मंगलवार कुराकानीका क्रममा उनले अहिलेको सत्ता गठबन्धन टिकाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता देखाउन नहुने बताए।
उनले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने जिकिर गरे। उनले अहिले अप्रत्याशित रूपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरू कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए।
उनले कांग्रेस पनि वीपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरूसँग अघि बढ्न आवश्यक रहेको बताए। उनले कम्युनिष्टहरू एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभीष्ट देखिएको पनि बताए।
उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभई ओली नै रहेको दावी पनि गरे। उनले केपी ओली र दाहालले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए।
उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।