काठमाडौँ : नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ। सोमवार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलवार उच्च दरमा घटेको हो।
सोमवार नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार ६ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो।
आज मंगलवार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले घटेको छ।
मंगलवार कारोबारमा अएका ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सोमवार नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरमा कारोबार भएको थियो।
मंगलवार उच्च अंकले नेप्से परिसूचकमा गिरावट आउँदा दुई कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यता गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ८.७३ प्रतिशत बढेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक मात्रै बढेको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ।
त्यस्तै,अन्य उपसमूहको परिसूचक ४.३५ प्रतिशत,जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलवार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।