|

काठमाडौँ : निजी क्षेत्रले शिथिल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सत्ता परिवर्तनसँगै लयमा आउने विश्वास लिएको छ।

सत्ता समीकरण परिवर्तनपछि अर्थतन्त्रले पनि लय समात्ने निजी क्षेत्रले अपेक्षा गरेको हो। गठबन्धन फेरिएसँगै अर्थतन्त्र लयमा आउने झिनो आशा पलाएको निजी क्षेत्रका उद्योगी व्यवसायीले बताएका छन्।

प्रधानमन्त्री परिवर्तन नभए पनि पछिल्लो एक वर्षमा तीनपटक सत्ता समीकरण परिवर्तन भएको छ। त्यसले राजनीतिक अस्थिरता देखिए पनि नयाँ अर्थमन्त्री र नयाँ समीकरणबाट संकटमा रहेको अर्थतन्त्र पुरानै लयमा आउने अपेक्षा उद्योगी व्यवसायीको देखिएको छ।

मन्त्रिमण्डल विस्तारसँगै पुँजीबजारले गति लिने निजी क्षेत्रको अपेक्षा छ। निजी क्षेत्रले पुरानो सत्ता गठबन्धनबाट नभएका र अधुरा काम नयाँ सत्ता समीकरणबाट हुने अपेक्षा राखेको छ। उद्योगी व्यवसायीहरूले सबै राजनीतिक दलहरूले आर्थिक सुधारको एजेण्डालाई पहिलो प्राथमिकता राख्नुपर्ने बताए।

उनीहरूले नयाँ सत्ता समीकरणसँगै शिथिल बनेको अर्थतन्त्रलाई लयमा ल्याएर निजी क्षेत्रको मनोबल उच्च बनाउने पनि आशा रहेको बताए। व्यवसायीहरूले नयाँ सत्ता गठबन्धनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्ने विश्वास रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले शिथिल अर्थतन्त्रलाई नयाँ सत्ता गठबन्धनबाट बन्ने अर्थमन्त्रीले लयमा ल्याउने काम गर्ने आशा रहेको बताइन्।

उनले अर्थतन्त्रमा देखिएको समस्या सुधारको आवश्यकता रहेका वेला नयाँ सत्ता परिवर्तनले केही सुधार हुने आशा जगाएको बताइन्। राणाले पछिल्लो तीन दशकमा निजी क्षेत्रले सबैभन्दा बढी अप्ठ्यारो महसुस अहिले गरेको भन्दै सत्ता गठबन्धन परिवर्तन भएको अवस्थामा निजी क्षेत्रले केही आशा गरेको उल्लेख गरिन्। उनले वर्षौंदेखि निजी क्षेत्र केही परिवर्तनको आशा बोकेर बसेको धारणा राखिन्।

राणाले भनिन्, ‘निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्था छ। मुलुकको अर्थतन्त्र ओरालो लाग्दो छ। पछिल्लो तीन दशकमा निजी क्षेत्रले सबैभन्दा बढी अप्ठ्यारो महसुस गरेको छ। अब केही परिवर्तन हुन्छ कि भन्ने लागेको छ। राजस्व तिरेर योगदान गर्ने भएकाले निजी क्षेत्रले केही चाहेको छैन। सरकारले सम्मान दिए पुग्छ।’

अर्का उद्योगी व्यवसायी शशिकान्त अग्रवालले सत्ता परिवर्तन भए पनि मुलुकको आर्थिक नीति र संरचना परिवर्तन नभएको भन्दै नयाँ सत्ता समीकरणले शिथिल अर्थतन्त्र सुधारका आशा पलाएको बताए।

उनले विगत एक वर्षदेखि अर्थतन्त्र सुधारमा कुनै उपलब्धि हासिल नगरेको भन्दै नयाँ आउने अर्थमन्त्रीबाट पुराना मन्त्रीले नगरेका र त्रुटि सच्याएर अगाडि बढ्दा अर्थतन्त्रमा सुधार हुने अपेक्षा रहेको बताए। उनले कम्तिमा नयाँ सत्ता समीकरणले उच्च रूपमा गिरेको निजी क्षेत्रको मनोबल उकास्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.