|

इलाम : इटहरीमा १४औं इटहरी गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता चैत १० गतेदेखि हुने भएको छ। गोल्डकपबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टोली सहभागी हुने जानकारी दिइएको छ। क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार चैत १० गतेदेखि १७ गतेसम्म हुने गोल्डकपमा ‘ए’ डिभिजनका चारवटा, भारतको एउटासहित आठ टोली सहभागी हुनेछन्।

त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एपीएफ, एनआरटी क्लब, बिर्तामोड युनाइटेड झापा, कञ्चनजंघा फुटबल क्लब भारत, साविक विजेता सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सहभागी हुने डुम्जनले जानकारी दिए।

प्रतियोगिताका विजेताले नगद १० लाखसहित ट्रफी हात पार्नेछ भने उपविजेताले पाँच लाखमा चित्त बुझाउनेछ। प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार पाउनेछन्।

यसैगरी उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवार्ड, उत्कृष्ट बेस्ट प्रशिक्षक, उत्कृष्ट राइजिङ प्लेयरलाई नगद २० हजार प्रदान गरिने खेल संयोजक अनुरोध थापाले जानकारी दिए। यसैगरी उत्कृष्ट हाइ स्कोररले २५ हजार र म्यान अफ दि सिरिजले १ लाख पाउने खेल संयोजक थापाले बताए।

प्रतियोगिताका आर्थिक समिति संयोजक तथा कोशी प्रदेश फुटबल संघका सचिव केशव कार्कीका अनुसार यो वर्ष रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ। ‘यो वर्ष हामीले रात्रिकालीन प्रतियोगिता गर्नेछौँ, सोहीअनुसार तयारी भइरहेको छ’, उनले भने, ‘रंगशालामा चारवटा लाइट जडान हुन्छ। दुइटा छँदै छन् छ, दुइटा थप्दै छौँ।’

फुटबल हेर्ने दर्शकबाट अर्थ संकलन हुने उनले बताए। ‘हामीलाई यो वर्ष दर्शकको आश छ’, उनले भने, ‘रात्रिकालीन प्रतियोगिता गर्न चुनौती छ‚ सुरक्षा समिति बनाएर प्रहरीसँग समन्वय गरेका छौँ।’

यो वर्ष ‘सेक्युरिटी’ पनि थपिने र नगरपालिकासँग पनि सुरक्षा मागिने उनको भनाइ छ।

टिकट दर क्वार्टरफाइनलमा १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय तोकिएको छ। दैनिक दुई हजार दर्शकले टिकट काटेर प्रतियोगिता हेर्ने अपेक्षा गरिएको कार्कीले बताए।

प्रतियोगितामा कुल ७६ लाख खर्च हुने अनुमान छ। प्रतियोगितामा प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगर, राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट्स रहेको छ।

आयोजकले गत वर्ष ५९ लाख ६० हजार ४५० रुपैयाँ आम्दानी र ५५ लाख ९४ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.