|

जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमा फागुन २७ गतेदेखि शुरु हुँदै छ। धनुषाको कौचरीबाट १५ दिने ऐतिहासिक धार्मिक परिक्रमा शुरु हुनेछ।

यो पवरिक्रमाका वेला नेपाल र भारतका हजारौं श्रद्धालुले १५ ठाउँमा विश्राम गरी १३३ किलोमिटर पैदल यात्रा गर्छन्।

माध्यमिकी परिक्रमामा विनानिम्तो लाखौँ भक्तजन परिक्रमावासी पुगेको ठाउँमा पुग्छन्। नेपाल-भारतको १३३ किलोमिटरको दूरी नांगो खुट्टा भ्रमण गरिन्छ। १५ तीर्थस्थलमा तीर्थालु पुग्छन्। प्रत्येक रात त्यहीँ वास बस्छन्।

मिथिला माध्यमिक परिक्रमा १८ औं शताब्दीबाट चल्दै आएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव बताउँछन्।

सोही यात्राका लागि आइतबार फागुन २७ गते धनुषाको मिथिला विहारी नगरपालिका-८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालु बिहान प्रस्थान हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए।

परिक्रमावासीले सामाजिक सम्बन्ध बलियो बनाई एकताको भाव प्रदान गर्ने बताइन्छ। माध्यमिकी परिक्रमा संस्कृतिलाई एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएको छ। त्यसैले त १८ औं शताब्दीमा शुरु भएको परिक्रमा अझै जीवितै छ।

१५ दिने माध्यमिकी परिक्रमाका वेला भक्तजनहरू ढोलक, झायल, कर्ताल, हारमोनियमको तालमा कीर्तन मण्डली नाच्छन्। जय सियाराम, जय सीयाराम...भन्दै कीर्तन गर्छन्।

धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ।

त्यहाँ खाना खाएर परिक्रमाका सहभागीहरू जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्नेछन्।

सूर्योदयलगत्तै उनीहरू भारतको कलानेश्वरका लागि प्रस्थान गर्छन्। जहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ। यात्रा गरेको चौथो दिन महोत्तरीको मटिहानी पुग्नेछ।

दुई देशबीच १५ दिनसम्म चल्ने यो अनौठो परिक्रमा हो। कोशी, गण्डक, गंगा, हिमालय मिथिला क्षेत्र भित्र पर्छ। यो बृहत् परिक्रमाभित्र पर्छ। जनकपुरधामलाई परिक्रमा गर्नु भनेको माध्यमिकी परिक्रमा हो।

त्यसपछि मिथिला बिहारी(राम)को डोला शुरु भयो। त्यसपछि किशोरीजीको पनि डोला शुरु भयो। परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्छ। यसले मानवलाई धर्मको माध्यमबाट नैतिकवान र आशावादी बनाउँछ।

मन्त्रालयले यसलाई महत्त्व दिँदै प्रचार प्रसार गरे यसले देशलाई राम्रै फाइदा हुने बृहत् जनकपुरधामका अध्यक्ष शीतल साह बताउँछन्।

यो धार्मिक यात्रामा वार्षिक लाखौं श्रद्धालु सहभागी हुन्छन् तर उनीहरूका लागि सुविधासम्पन्न आवासको सुविधा नभएको जनकपुरधामका युवा दीपक गुप्ता बताउँछन्।​

तीर्थयात्रीको बसाइँ र पर्यटकको व्यवस्थापनमा समस्या देखिन्छ। धार्मिक, कृषि र उद्योग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने योजना सरकारले अघि बढाउनुपर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।

सुन्दर सदनका महन्त नबल किशोर दासका अनुसार आइतबार सबै तीर्थालु हनुमानगढमा जम्मा हुनेछन्। २८ सोमबार बिहानै कल्याणेश्वरका लागि यात्रु प्रस्थान गर्नेछन्। २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्नेछन् भने ३० गते महोत्तरीको मटिहानी पुग्ने बताए।

त्यसैगरी चैत १ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए।

४ गते महोत्तरीको कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीले होली महोत्सव मनाउने गरेको शरणले बताए।

५ गते धनुषाको क्षीरेश्वरनाथमा विश्राम गर्नेछन् भने ६ गते धनुषाधाममा धनुषमन्दिर पुगेर विश्राम गर्नेछन्। ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनःभारतको बिहारस्थित करुणा स्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर मध्यमा परिक्रमा समापन हुनेछ। अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ।

परिक्रमामा विशुद्ध पारिवारिक वातावरण हुन्छ।

परिक्रमा मिथिलाको सुसंस्कृत सभ्यता हो। यो एउटा मिथिलाको साँस्कृतिक पर्व हो, जसले आन्तरिक पर्यटनलाई बढावा दिन्छ। नेपाल–भारतबीचको भावनात्मक सम्बन्धलाई बढाउँछ।

प्राचीन मिथिलाको राजधानी जनकपुरका चारै कुनामा राजा जनकले चारवटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरे।

जसलाई आधार मानी परिक्रमा गरिन्छ। चारवटै शिवालय राजा जनकका इष्टदेव हुन्। वर्षमा एकपटक विशाल रूपमा तीर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिकी परिक्रमा गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.