पन्तको व्यवहारसँग कर्मचारी र विद्यार्थी छैनन् सन्तुष्ट
पन्तको व्यवहारसँग कर्मचारी र विद्यार्थी छैनन् सन्तुष्ट
काठमाडौँ : विभिन्न भाषाका विज्ञ उत्पादन गर्ने थलो हो विश्वभाषा क्याम्पस। यहाँ नेपालका मात्रै होइन विदेशी विद्यार्थीहरूले पनि अध्ययन गर्दै आएका छन्। तर यो क्याम्पसमा सेवा लिन सकस छ। उक्त दुःख राज्यको चौथो अंग सञ्चारमाध्यमले भोग्छ भने झन् विद्यार्थीहरूलाई सेवा लिन कति होला सकस?
फागुन २२ गते मंगलबार थाहाखबरकर्मी विश्वभाषा क्याम्पस : कति विद्यार्थी कुन भाषा पढ्दै? भन्ने स्टाेरीका लागि तथ्यांक लिन क्याम्पस पुग्यो। क्याम्पस पुग्दा कार्यालयमै क्याम्पस प्रमुख डा.यादवराज पन्त रहेछन्। उनीसँगै कुरा गर्न सोच बन्यो तर एक कर्मचारीले अगाडि नै भनेका थिए, ‘यो क्याम्पस प्रमुखले राम्रो बोल्दैनन्, सूचना नदिन सक्छन्।’
तैपनि समय मागेर उनको कार्यकक्षमा प्रवेश गरियो। त्यसपछि उनले भने, ‘केका लागि आएको?’ मैले तथ्यांकको विषय सुनाए। उनले एकै छिनमा भने, ‘मसँग होइन, उता प्रवक्तासँग कुरा गर्नू।’
त्यहाँबाट म प्रवक्ता खोज्दै निस्किएँ। क्याम्पसका प्रवक्ता सर्गमान महर्जन रहेछन्। उनको कार्यकक्षमा प्रवेश गरेर उही तथ्यांककै विषयबारे सुनाए। उनले आफूसँग तथ्यांक छैन भन्दै अर्को एक्जाम शाखामा पठाए। त्यहाँ गए र पुनः मलाई चाहिएको तथ्यांकबारे नालीबेली सुनाएँ।
ती महिला कर्मचारी पनि तथ्यांक छैन भन्दै पन्छिन खोजिन्। उनले भनिन्, ‘मसँग त छैन, उहाँ प्रवक्तासँगै कुरा गर्नू।’ मैले ती प्रवक्तासँग तथ्यांक छैन भनेर यहाँ पठाएको त्यसैले आफैँ कुरा गरिदिनु भन्ने आग्रह गरे। त्यसपछि ती महिलाले प्रवक्तालाई तथ्यांक आफूसँग नभएको र यही होला भनेर कुरा निकाल्नासाथ ती दुई कर्मचारीले तथ्यांक राख्नु भनेको होइन भन्दै भनाभन पो गर्न थाले।
पहिला जानकारी छैन भन्ने तिनै प्रवक्ताले पछि भने अध्ययन गरिरहेका विद्यार्थीहरूको कक्षा कोठा र पढाउने सिफ्ट हेर्दै विद्यार्थी संख्याबारे जानकारी दिए तर नेपाली भाषाको विद्यार्थी संख्या थिएन। उनले कि त विदेश विभाग कि त नेपाली विभागमा बुझ्न सुझाए। त्यहाँबाट निस्किएर उक्त विभागमा छिर्न खोज्दा क्याम्पसका नायब सुब्बा(नासु) टहल दाहालले अहिले कोही कर्मचारी नभएको जानकारी दिएपछि म बाहिरिएँ।
प्रमुख पन्तले कर्मचारीहरूलाई भने, ‘टियूको अनुमतिबिना सूचना नदिनू’
दोस्रो दिन अर्थात् बुधबार बिहान करिब १० बजे सिधै नेपाली विभाग गए। उक्त विभाग बन्द थियो। त्यसपछि विदेशी विभागका पनि कर्मचारीहरू आइपुगेका थिएनन्। एकजना सहायक क्याम्पस प्रमुखसँग नेपाली भाषामा पढ्ने विद्यार्थी संख्याबारे बुझ्दा उनले पनि जानकारी छैन भन्दै विदेशी विभागसँग नै बुझ्न भनिन्।
बल्ल विदेशी विभागको कोठा खुल्यो तर विदेशी विभागका विद्यासागर श्रेष्ठ १०ः३० सम्म पनि आइपुगेनन्। पछि उनको नम्बर प्राप्त गरेर सम्पर्क गर्दा आफू बिदामा रहेको र अर्कैसँग जानकारी लिनू भन्दै उनी पन्छिए।
म पुनः उक्त कार्यकक्षमा छिरे र श्रेष्ठले दिएको नाम भएका कर्मचारीलाई भेटेर कुरा गर्दै गर्दा क्याम्पस प्रमुख पन्त छिरेर कर्मचारीहरूलाई चेतावनीका साथ भने, ‘टियूको अनुमतिबिना सूचना नदिनू, समस्या पर्छ।’
उनले यति भनेपछि ‘हिजो पनि आएको होइन भन्दै’ बोलाए र उनको कार्यकक्षमा लगे। मैले सोचेको थिएँ, ‘यति सामान्य त सूचना हो दिन्छन् होला।’ तर, त्यो भएन। पुनः पनि केही जानकारी दिएनन्। उनले फेरि रुखाे बाेलीसहित त्रिविको अनुमतिपत्र चाहिने कुरा निकाले र भोलि बिहान आउनु भन्दै उनले भने, ‘अहिलेलाई जाऊ।’
उनको त्यो बोली र छुद्र व्यवहारले सूचना दिन नचाहेको र सेवाग्राही होस् वा अन्य व्यक्ति होस्‚ दुःख दिने नियत प्रष्टै देखिन्थ्यो। प्रत्येक नागरिकले पाउने सूचना हकको व्यवस्थालाई नै उनले कुण्ठित पार्न खोजेका हुन्।
सूचनाको हक सम्बन्धी ऐन, २०६४, नेपालको संविधान अनकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ को अनुच्छेद (२) मा सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्था गरिएको छ।
ऐनको दफा (३) को उपदफा (१) मा भनिएको छ, ‘प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ, (२) प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ।’
उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायमा रहेको नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने लगायतमा सूचना उपलब्ध गराउन नमिल्ने भनिएको छ। तर उक्त व्यवस्थाभित्र थाहाखबरले मागेको तथ्यांक पर्दैन।
त्यसैले सहजै क्याम्पसले उपलब्ध गराउनुपर्ने हो। सूचना प्रवाह नगर्नुपर्ने उचित र पर्याप्त कारण भएकोमा बाहेक त्यस्तो सूचना प्रवाह गर्ने दायित्वबाट सार्वजनिक निकाय पन्छिन नपाउने ऐनमा व्यवस्था छ। तर त्रिवि क्याम्पस आफै जानकारी नभएर हो वा भएर पनि भन्न चाहेनन्।
प्रमुख पन्तको व्यवहारसँग कर्मचारी र विद्यार्थी छैनन् सन्तुष्टि
कुनै पनि सार्वजनिक पद धारण गरेको जोसुकै व्यक्ति मुलुकको संविधान, प्रचलित कानुन तथा तोकिएका मापदण्डको अधीनमा रहेर पदीय दायित्व र जिम्मेवारीको निर्वाह गर्नुपर्दछ। उसको आचरणमा शुद्धता चाहिन्छ। ‘पब्लिक चेयर’मा बस्ने हरेक व्यक्तिको विभेदरहित दृष्टिकोण हुनुपर्दछ।
तब मात्रै अन्य कर्मचारीहरूको काम गर्ने इच्छाशक्तिको विकास हुन्छ। त्यसले राज्यलाई मद्दत पुग्छ तर उक्त क्याम्पस प्रमुखको बोली र व्यावहारबाट त्यहाँकै कर्मचारीहरू सन्तुष्ट छैनन् भन्ने थाहाखबरकर्मी प्रमुख पन्तलाई भेट्न खोज्दै स्पष्ट भइसकेको थियो।
ती कर्मचारीका अनुसार क्याम्पस प्रमुख पन्तले प्रायः कर्मचारीलाई रुखो व्यवहार गर्छन्। त्यसैले अधिकांश कर्मचारीले उनको व्यवहार मन पराउँदैनन्। त्यही गुनासो त्यहाँ अध्ययनरत विद्यार्थीहरू पनि गर्छन्। एक विद्यार्थीले थाहाखबरसँग भने, ‘यो क्याम्पस प्रमुखको बोली, व्यवहार नै त्यस्तै हो। त्यसैले कसैले मन पराउँदैनन्।’
अर्कोतर्फ क्याम्पस प्रमुखको त्यस्ता व्यवहारले विदेशी होस् या नेपाली विद्यार्थी कस्तो संस्कार सिक्छन्? भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ।
सेवामा भद्रगोल
उक्त क्याम्पसमा सामान्य तथ्यांक पनि व्यवस्थित ढंगले नराखेको पाइयो। कर्मचारीहरू पनि एक अर्कालाई देखाउँदै पन्छिरहे। कर्मचारीहरूले नै त्यसरी राख्ने ‘सिष्टम’ नभएको बताएका थिए। सेवाग्राहीहरू भने कुना कुनाका विभाग धाउन बाध्य छन्।
यतिमात्रै हाेइन त्यहाँ कार्यरत कर्मचारीहरू मारमा पर्छन्। गत साउनमा क्याम्पसकै लापरबाहीले पारिश्रमिक नपाउँदा अनुवादकले काम नै रोकेका थिए। कर्मचारीहरूका अनुसार उक्त क्याम्पसले सात महिनासम्म पारिश्रमिक दिएन। गत मंसिरमा आन्तरिक स्रोत परिचालन निर्देशिकाविपरीत भुक्तानी भइरहेको उजुरी समेत परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न त्रिविलाई पत्राचार गरेकाे थियाे।
विश्वभाषा क्याम्पस वि. सं. २०१८ मा स्थापना भएको थियो। पछि विद्यालय २०२८ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा रूपान्तरण भयो।
शिक्षा क्षेत्रमा भएको बेथितिबारे आवाज बुलन्द बनाउँदै आएकी राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बुधबार बेलुका मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको शपथग्रहण गरेकी छिन्। उनले बोले जस्तै कार्यान्वयनमा पनि ल्याउनुपर्ने जिम्मेवारी उनको काँधमा छ। उनले शिक्षा क्षेत्रमा भएका बेथिति क्रमशः अन्त्य गर्दै जाने प्रतिबद्धता जनाएका छिन्।
मैले सकेको जति तथ्यांक दिएकै हुँ : प्रवक्ता महर्जन
उक्त क्याम्पसका प्रवक्ता महर्जनले आफूबाट सकेको तथ्यांक जुटाएको बताउँछन्। सेवाग्राहीलाई पनि सहजै रूपमा सेवा दिइरहेको उनको दाबी छ।
क्याम्पस प्रमुख पन्तको विषयमा भने उनी केही बोल्न चाहेनन्। ‘मलाई त ठिकै लाग्छ, उहाँको अरू विषयमा म बोल्दिनँ’‚ उनले भने। उनले त्यहाँ के कस्ता बेथिति छन् भन्ने विषयमा भने आफैँ अनुसन्धान गर्न सुझाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।