|

काठमाडौँ : सरकारले सहिद घोषणामा गम्भीर लापरबाही गरेको पाइएको छ। आन्तरिक दुर्घटनामा मृत्यु भएकाहरूलाई समेत सहिद घोषणा गरेर सरकारले लापरबाही गरेको पाइएको हो। 

बाख्रा चराउन जाँदा खेलौना ठानेर विष्फोटक पदार्थ चलाउँदा मृत्यु भएका एकै परिवारका चारजनालाई सरकारले सहिद घोषणा गरेको पुष्टि भएको छ। उनीहरूको नाम सहिद घोषणा गर्दा दुई ठाउँमा राखेर सरकारले अर्को गल्ती गरेको छ।

काभ्रे खानीखोला गाउँपालिका साविकको फलामेटार चिप्लेदमारका याङग्रीमाया वाइवा, मिठुमाया वाइवा, सुवास वाइवा र जनक वाइवाको २०६२ साल चैत २२ गते विष्फोटक पदार्थ खेलाउँदा मृत्यु भएको थियो। 

गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरु सहित २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार उनीहरूको नाम राजपत्रमा प्रकाशित भएको छ। सहिद परिवारलाई राज्यले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। 

खानीखोला वडा नं १ का अध्यक्ष सन्तमान थिङले आन्तरिक दुर्घटनामा मृत्यु भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहिद घोषणा गरेर सहयोग रकम उपलब्ध गराइएको बताए। 

सहिद घोषणा भएका चारजनामध्ये तीनजनाको नाम दुई ठाउँमा राखिएको छ। सरकारले घटना एउटै र मिति उहीमा सहिद घोषणा भएकाको नाम दुई ठाउँमा राखेर राजपत्रमा प्रकाशित गरेको छ। 

एकै मितिमा एउटै घटनामा मृत्यु भएका फलामेटार चिप्लेदमारका सुवास वाइवा, मिठूमाया वाइवा र याङ्ग्रीमाया वाइवाको नाम राजपत्रमा सहिद घोषणा सूचीमा दुई ठाउँमा राखिएको पाइएको हो।

उनीहरूले राज्यबाट पाउने सुविधा पाइसकेको वडाध्यक्ष थिङले जानकारी दिए। ‘जनयुद्धका क्रममा तत्कालीन माओवादीसँग भिडन्त भएको ठाउँमा नेपाली सेनाले छाडेको विष्फोटक पदार्थ भेटाएका उनीहरूले घरमा ल्याएर खेलाएछन्', वडाध्यक्ष थिङले भने, ‘खेलौना भनिएको विष्फोटक पदार्थ पड्कँदा एकजना बाँच्न सफल भए पनि चारजनाको क्षतविक्षत भएर मृत्यु भएको हो।’ 

उनले उनीहरूको भिडन्तमा नभई आन्तरिक दुर्घटनामा मृत्यु भएको बताए। गृह मन्त्रालयले भने स्थानीय प्रशासनबाट सिफारिस भएकाहरूको नाम नै राजपत्रमा प्रकाशित गरेको बताएको छ। 

दुई ठाउँमा नाम राखिएकोबारे मन्त्रालयले भुलवश टाइप मिस्टेक भनेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले टाइप मिस्टेक भएर दुई ठाउँमा नाम परेको भए राजपत्र सच्याएर पुन: प्रकाशित गर्ने जानकारी दिए।

‘त्यसलाई करेक्सन गर्नुपर्छ, सूचना दिनुभयो धन्यवाद', ‘गृह प्रवक्ता भट्टराईले भने, ‘सुझावका आधारमा राजपत्र करेक्सन हुन्छ।’ जिल्ला प्रशासन कार्यालय काभ्रेले नै सहिद घोषणाको सिफारिस गर्दा एकै व्यक्तिको नाम दुई ठाउँमा राखेर पठाएको पाइएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.