काठमाडौँ : आगामी नयाँ शैक्षिक सत्रका लागि नयाँ पाठ्यपुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ५ बाहेक सबै कक्षाको छपाइ सकिएको जनाएको छ।
जनक शिक्षाका अनुसार २०८१ को शैक्षिक सत्रका लागि १ करोड ७४ लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षाले पाएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी रवीन्द्रकुमार शर्माले अब १० लाख थान पुस्तकमात्रै छाप्न बाँकी रहेको जानकारी दिए। ‘पुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको छ, कक्षा ६–१२ को सबै छपाइको काम सकियो, अब कक्षा ५ को मात्रै बाँकी छ। यो कक्षाका लागि हामीले माघ अन्तिममा मात्रै छाप्ने अनुमति पाएका थियौँ’, उनले भने।
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकिएको छ। त्यसैले पुस्तक छपाइको काममा समस्या नआउने र अहिले दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको उनले बताए।
जनक शिक्षाले अहिले दैनिक एक लाख पुस्तक छाप्दै आएको जनाएको छ। बाँकी पुस्तक छपाइको काम एक हप्ताभित्र सम्पन्न गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी शर्माले जानकारी दिए। ‘छपाइमा कुनै समस्या छैन। त्यसैले अबको एक हप्ताभित्र बाँकी पुस्तक छपाइको काम सकिन्छ’, उनले भने।
चैत १५ बाट विक्री वितरण खुल्ने
जनक शिक्षाले चैत १५ गतेपछि मात्रै छापिएका नयाँ पुस्तकको विक्री वितरण खोल्ने तयारी गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी शर्माका अनुसार चैत १५ अगाडि नै विक्री वितरण खोल्ने तयारी थियो।
‘तर निजीबाट छापिएको पुस्तक यो समयभन्दा अगाडि नसकिने भयो, निजीको र जनक शिक्षाले छापेको पुस्तक सँगै विक्री वितरण खोल्नुपर्छ। त्यसैले हामीले चैत १५ पछिबाट विक्री वितरण खोल्ने तयारी गरेका छौँ’, उनले भने।
जनक शिक्षाका अनुसार अहिले छापिएका पुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइएको छ। यसैगरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइएको र यी स्थानबाट वितरण गरिनेछ।
यो वर्ष पनि समयमा पुस्तक पुग्ने दाबी
जनक शिक्षाले चालू शैक्षिक सत्रको जस्तो २०८१ को शैक्षिक सत्रमा पनि समयमै नयाँ पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्याउने लक्ष्य लिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी शर्माले चैतदेखि नै पुस्तक वितरण शुरु गरी शैक्षिक सत्र शुरु हुँदा विद्यालय/विद्यालयमा पुस्तक पुर्याएर विद्यार्थीको हातहातमा पुस्तक पुग्ने दाबी गरे।
‘जसरी यसअघि समयमै सम्बन्धित ठाउँमा पुस्तक पुग्यो, त्यसैगरी नयाँ शैक्षिक सत्रका लागि पनि पुस्तक पुग्छ,कुनै पनि हालतमा ढिलाइ हुँदैन। यसमा हामी प्रतिबद्ध भएर काम गरिरहेका छौँ’, उनले भने।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।