|

विराटनगर : मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफि पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन्।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतवार भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ। 

जितसँगै पुलिस समूह बी मा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकको साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकीले खेलेका तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४४ रनको स्कोर खडा गरेको थियो।

गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरि ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५ चौका प्रहार गरि ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरि ४० रनको योगदान दिए। 

पुलिसको अविशेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले १/१ विकेट लिए।

जवाफमा १४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो।

पुलिसको जितमा प्लेयर अफ द म्याच शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गरि नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८ रन, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए।

गण्डकीका अमृत गुरुङले २ विकेट लिँदा सन्दिप पराजुलीले पनि २ विकेट तथा चन्द्र पौडेलले १ विकेट लिए।

दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। आर्मीले  लगातार दोस्रो खेल जित्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। 

आर्मीले यसअघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको थियो। आर्मीले खेलेका दुवै खेल जित्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा पराजित मधेश २ अंकका साथ चौथो स्थानमा रहेको छ।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५३ रनको योगफल तयार पारेको थियो।

मधेशका पवन सर्राफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरि ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए।

आर्मीका नितेश पटेलले ४ विकेट लिए। पटेलले ४ ओभरमा १९ रन मात्र दिए। त्रितराज दास र शाहब आलमले २/२ विकेट लिए।

जवाफमा १५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ ओभर ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो।

आर्मीको जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरि अविजित ६० रनको पारी खेले। सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरि ५७ रन र टुल थापाले १९ रनको योगदान दिए। 

मधेशका रुपेश सिं, अविशेक तिवारी र पवन सर्राफले १/१ विकेट लिए।

सोमवारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु टोली कोशी र एपिएफबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.