|

पोखरा : सुस्तश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन्? धेरैलाई उत्सुकता लाग्न सक्छ। उनीहरू मजाले फुटबल खेल्छन्। उनीहरूका लागि कुनै विशेष मैदान हुँदैनन्। सामान्य खेलाडी खेल्ने मैदानमा उनीहरू खेलिरहन्छन्।

बहिरा खेलाडीहरू इशाराको भरमा फुटबल खेल्छन्। उनीहरूका लागि संकेत काफी हुन्छ। बोल्न नसक्ने र कानले पनि नसुन्ने भएकाले उनीहरूका लागि इशारा बेग्लै हुन्छ। निर्णायक भूमिकाका लागि ‘रेफ्री’ पनि मैदानमा तैनाथ हुन्छन्। रेफ्रीको एउटा हातमा रातो र अर्को हातमा हरियो झन्डा हुन्छ। खेलाडीले गल्ती गरे रेफ्रीले सिटी बजाउँदैनन्, रातो झन्डा हल्लाउँछन्। अनि बल चलाउनका लागि हरियो झन्डाले इशारा दिन्छन्। प्रशिक्षकले इशाराले सिकाउँछन्। इशाराकै भरमा खेलाडीले आपसमा बल माग्छन् ।

गोल हुँदा दर्शकले हुटिङ गर्नुको साटो दुवै हातमाथि माथि उठाएर औँला फिजाएर खुसियाली साट्छन्। उनीहरूका लागि भाषाको सञ्चार हातको हाउभाउ हो। बागमती बहिरा महिला फुटबल टोलीकी कप्तान कोपिला गुरुङले आफूहरू यसरी नै फुटबल खेल्ने गरेको बताउँछिन्। कोपिला गत शुक्रबार अन्तरराष्ट्रिय महिला दिवसका दिन बहिरा फुटबल खेल क्लब पोखराले आयोजना गरेका बहिरा महिला फुटबल प्रतियोगिता खेल्न पोखरा आएकी थिइन्।

उनको टोली पोखरामा प्रथम भएको थियो। नक्साल बहिरा माविमा अध्ययनरत कोपिला बोल्न र सुन्न नसके पनि इशाराको भरमा सामान्य मानिसले जस्तै गरी फुटबल खेल्न सक्ने बताउँछिन्। ‘हामी संकेतको भरमा फुटबल खेल्न सक्छौँ, हाम्रा लागि सरकारले केही सोचिदिनुपर्छ’, कोपिलाले भनिन्, ‘मेरो लक्ष्य नेपालका तर्फबाट विदेश गएर राम्रो खेल्ने रहर छ।’

पोखरामा फुटबल खेल्न आएकी कञ्चनपुरकी बहिरा महिला फुटबल खेलाडी शर्मिला चौधरीको पनि चर्चित फुटबल खेलाडी बन्ने लक्ष्य छ। उनी सुदूरपश्चिम महिला बहिरा फुटबल टोलीकी कप्तान हुन्। दक्षिणकाली बहिरा आवासीय माविमा कक्षा ७ मा अध्ययनरत कप्तान शर्मिलाले बहिरा खेलाडीले उचित अवसर र तालिम पाए अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने बताउँछिन्।

शर्मिलाले भनिन्, ‘उचित अवसरसँगै तालिम हुने हो भने हामी अरू जस्तै अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न सक्छौँ।’ रेफ्री कवीरमान गुरुङले अन्य प्रतियोगिता खेलाउँदाभन्दा केही फरक अनुभूति भएको बताए। बहिरा खेलाडीलाई खेलाउँदा सिटी फुक्नुको साटो झन्डा हल्लाउनुपर्ने बाहेक सबै नियम समान भएको उनले बताए।

बहिरा खेलाडीहरू पनि खेल्न सक्षम छन् भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले बताए। बहिराहरूको पहिलो भाषा सांकेतिक भाषा भएकाले राज्यले दोभाषे उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।

यो वर्षदेखि महिलाका लागि पनि अवसर दिइएको बताए। उनले बहिरा महिलाले पनि राम्रोसँग खेलेकाले आगामी वर्ष पनि बहिरा महिला फुटबल आयोजना गर्ने बताए। कोशी, बागमती, सुदूरश्चिम र गण्डकी प्रदेशका दुई गरी पाँच टोली सहभागी बहिरा महिला फुटबल प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको थियो।

पोखरा रंगशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ‘टाइब्रेकर’मा २–० गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो। उपाधि विजेता बागमतीले रु. ५० हजार र उपविजेता सुदूरपश्चिमले रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.