|

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।

समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रहेको छ।

सत्तापक्ष र प्रतिपक्षबीच चालू आव २०८०।०८१ को बजेट पारित गर्दाको समयमा भएको सहमति कार्यान्वयनका विषयमा विवाद भई प्रदेशसभा बैठक नै प्रभावित बनेपछि सहमति कार्यान्वयन गराउन १७ फागुनमा बसेको प्रदेशसभा बैठकले कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो।

समितिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले चालू आवको बजेट पारित गर्दाको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएका योजनाहरू प्रतिवेदनमा समावेश गरी कार्यान्वयन गर्न सिफारिस गरेको छ भने सो विषयलाई कार्यान्वयन गर्न उपयुक्त भएकाले प्रदेश सरकारलाई निर्देशन समेत दिएको छ।

पेश भए बमोजिमका आयोजना बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउन पनि समितिले निर्देशन दिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले उल्लिखित आयोजनामा अर्थ विविध वा अन्य उपयुक्त शीर्षक अन्तर्गतको पुँजीगततर्फको बजेटबाट रकमान्तर गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।

विषयगत मन्त्रालय तथा निकायहरूमार्फत उल्लिखित आयोजनाहरूको नियमानुसार कार्यान्वयन गर्ने तथा गराउने निर्देशन समितिले दिएको छ। समितिले थप आयोजनहरूको हकमा प्रदेश आर्थिक कार्यविधि ऐन २०७३ को परिच्छेद ३ र प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ को परिच्छेद ४ मा वार्षिक बजेट तर्जुमाको समय सीमा र मापदण्ड तोकिएको हुँदा कानुन बमोजिम कार्यान्वयन गर्न सकिने हुँदा सोहीअनुसार पुँजीगत खर्च गर्न निर्देशन दिएको छ।

सिफारिस योजनाहरूको हकमा चैतको पहिलो साताभित्र कार्यान्वयन शुरु गर्न प्रदेश सरकारलाई समय सीमा तोकेर समितिले निर्देशन गरेको छ। सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेट ल्याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.