|

काठमाडौँ : नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु भएको छ।

बिहीवार सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सिनेमालाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने र सिनेमाले सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनेमा जोड दिइन्। 

उनले नेपाल विश्वभरिका फिल्म निर्माताका लागि महत्वपूर्ण स्थान रहेको बताउँदै भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले फिल्म छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो। सिंगो नेपाललाई नै फिल्म स्टुडियोको रुपमा विकास गर्न आवश्यक छ।’

नेपालको गौरवशाली इतिहास, सांस्कृतिक सम्पदाको अखण्ड विरासत, फिल्मका लागि महत्वपूर्ण कथा वस्तु भएको पनि उनको भनाइ थियो।

नेपाल फिल्मका लागि आवश्यक कथाका हिसाबले पनि सम्पन्न रहेको जनाउँदै उनले भनिन्, ‘मानवको दुःखको कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसंस्कृतिक र बहुजातीय मुलुक हो‚ जहाँ अनेक कथा भेटिन्छन्।’ 

नेपाली संस्कृतिको संवर्द्धन, संरक्षण र प्रचारका लागि सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा मन्त्री शर्माले जोड दिइन्। 

वर्तमान स्थितिमा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने निर्देशक तथा अभिनेता नीर शाहले बताए। 

उनले भने, ‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभूति हुन थालेको छ। तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय फिल्मले आफ्नो अभियानलाई सही दिशातिर गति दिन सफलता हासिल गर्दै गएको पनि छ।’ 

नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको पनि उनले स्पष्ट पारे।

नेपाली फिल्म क्षेत्रको उत्थानका लागि नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव जस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहने शाहले जिकिर गरे। 

‘निफले सातौँ संस्करणसम्म आफ्नो यात्रा तय गरिसक्दा अन्तरराष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ‚’ निफको निरन्तरताले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानबारे बताउँदै उनले भने, ‘नेपाली चलचित्र कर्मले प्राप्त गरेको दूरगामी अर्थ राख्ने संस्था बनेको छ। अन्यथा ६ दर्जन देशहरुबाट एकसेएक राम्रा फिल्महरु, सिनेमा क्षेत्रलाई माथि उठाउन विभिन्न कालखण्डमा योगदान पुर्‍याउने अन्तरराष्ट्रिय व्यक्तित्वहरुको सहभागिता यहाँ हुँदैनथ्यो।’ 

विदेशी फिल्मबाट प्रभावित फिल्म बनाउनुभन्दा यहीँका दन्त्यकथामा आधारित रहेर विश्व मस्तिष्कमा बस्ने गरी ५ मिनेटको छोटो फिल्म बनाउनु सिने क्षेत्र र देशको लागि फाइदाजनक रहेको उनले बताए।

शाहले निफलाई प्राथमिकतामा राख्न सरकारलाई गरेको आग्रहलाई समर्थन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्ता कार्यक्रम नियमित गर्न निकै कठिन रहेको बताए। 

सरकारका तर्फबाट कलाक्षेत्रले उचित सम्मान नपाएको गुनासो केसीले गरे।

नेपाली सिनेमाले आपसी सदभाव कायम गर्न पनि महत्वपूर्ण योगदान दिँदै आएको स्विकार्दै मन्त्री शर्माले आगामी बजेटमा नेपाली फिल्मलाई उद्योगको रुपमा विकास गर्न केही कार्यक्रम प्रस्ताव गर्न अनुरोध गरिन्।

बिहीवार शुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन्। 

आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री ‘मिसन इम्पोसिबल’सँगै शुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म ‘देसान’ पनि देखाइएको छ। 

चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.