|

विराटनगर : मुन लाइट गर्ल्स होस्टेल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन्। उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन्।

मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम्मानित हिरासतमा राखी कार्वाही अगाडी बढाउन माग राखेका छन्।

आफ्नो होस्टलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको भए पनि अहिले रेग्मी अस्पतालमा भर्ना भएकी छिन्।

पछिल्लो समय भाडाको घरमा नयाँ होस्टल सञ्चालन गर्दै थिइन्। उनलाई काठमाडौँ जानुपर्ने पैसा चाहिएपछि चैतको समेत एडभान्स मागेर छात्रामाथि दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ।

छात्राले तत्काल दिन नसक्ने आशयसहितका कुरा राखेको देखिन्छ तर त्यति भन्नासाथ रेग्मीले जबरजस्ती गरी किताब, लुगा तथा ओछ्यान फ्याँकेकी थिइन्।

त्यसपछि उनलाई सम्झाउन खोज्दै गरेको पनि देखिन्छ। बारम्बार ‘निस्केर जा, तँ निस्केर जा’ जस्ता शब्द प्रयोग गर्दै रेग्मीले किताब तथा कपडा फ्याँकिरहेका वेला छात्रालाई झापड हानेको देखिन्छ। त्यस वेला छात्राले ‘आमा’ पुकार्दै आफ्नो साथीसँग अँगालोमा बेरिएको दृश्य भिडियोमा देखिन्छ।

घटनाको विषयमा स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस एकाइ समितिलगायत अन्य विद्यार्थी संगठनहरुले कार्वाहीको माग राखेका छन।

कार्वाहीको माग राख्दै विज्ञप्ति

मधुलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कार्वाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

रेग्मी फर्जी बिमारी भएको र उनलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखी कार्वाही अघि बढाउन माग राख्दै आज स्ववियुले सिडियोलाई ज्ञापनपत्र बुझाएको हो।

उनीहरूले फर्जी बिरामी बनाएर अस्पताल भर्ना गर्ने कोशी अस्पताल प्रशासनलाई समेत कार्वाहीको माग राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.