|

काठमाडौँ : तापक्रम विस्तारै उकालो लागेर गर्मी शुरु भएसँगै डेंगु, इन्फ्लुएन्जा (फ्लु) तथा टाइफाइडका विरामी बढ्न थालेका छन्। सामान्यतया अन्य मौसममा भन्दा गर्मी मौसममा यस्ता संक्रमण बढ्ने गर्छ।

जनवरीयता डेंगुका ६ सय विरामी

तापक्रम बढ्दै गएपछि फेरि डेंगुका विरामी रिपोर्ट हुन थालेका छन्। सन् २०२३ वर्षभरि नै डेंगुका धेरै विरामी भेटिएका थिए।

यो वर्षको वैशाखदेखि असोजसम्मै डेंगु संक्रमण तीव्र गतिमा बढ्दा ५१ हजारभन्दा बढी संक्रमित भएका थिए। मंसिर लागेर जाडो शुरु भएपछि संक्रमण कम हुँदै गएको थियो तर फेरि तापक्रम बढ्दै जाँदा डेंगुका विरामी देखिन थालेको हो।

पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यको चुनौती बन्दै गएको डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला दिन सातामा २४ जनासम्म डेंगुका विरामी भेटिन थालेका छन्।

जनवरी र फेब्रुअरीमा थोरै विरामी भेटिए पनि त्यसयता विस्तारै डेंगुका विरामीको संख्या बढ्दै भएको ईडीसीडीले जनाएको छ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालका अनुसार जनवरीयता ६ सय जना डेंगुका विरामी देखिइसकेका छन्।

‘अहिले हप्ताको २४ वटासम्म डेंगुका केस रिपोर्ट भएको छ, जनवरीयता ६ सय जति केस रिपोर्ट भयो होला, कुन क्षेत्रबाट केस रिपोर्ट हुने संख्या बढिरहेको छ भन्ने  निगरानी गर्नु पर्नेछ‚’ डा दाहालले भने। ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्यांक राख्दै आएको छ।

विशेषगरी तापक्रम बढ्दै गएपछि डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेंगु संक्रमण बढ्ने गर्छ। यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ।

तर पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलनअनुकूल वातावरण बन्दै जाँदा वर्षातको समयमा देखिने डेंगु संक्रमण वर्षैभरि देखिन थालेको छ।

बढ्न थाले​ फ्लु तथा टाइफाइडका विरामी

तापक्रम बढ्दै जाँदा डेंगुमात्र होइन फ्लु, टाइफाइडजस्ता रोगका संक्रमणसमेत बढ्दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेका अनुसार तापक्रम बढ्दै जाँदा ज्वरो, फ्लु तथा सर्पदंशका विरामी विस्तारै बढ्न थालेका छन्।

‘तापक्रम बढ्दै जाँदा विस्तारै ज्वरो/टाइफाइड, फ्लु तथा सर्पदंशका विरामी बढ्न थालेका छन्, गर्मी बढ्दा यस्ता विरामी अब झनै बढ्नेछन्‚’ उनले भने।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन मौसम परिवर्तन भएर तापक्रम बढ्दै गएको यो समयमा धेरै जना फ्लु संक्रमित हुने जोखिम रहने हुँदा सतर्कता अपनाउनुपर्ने बताउँछन्।

उनले भने‚ ‘यतिखेर मौसमी फ्लुका विरामी बढेका छन्, धेरैले यस्ता संक्रमणलाई सामान्य स्वास्थ्य समस्या मान्ने गर्नु हुन्छ तर पछिल्लो समय यस्ता फ्लुका कडा लक्षण हुने हुने हुँदा धेरै जनालाई गाह्रो बनाइरहेको छ जसले गर्दा सतर्कता अपनाउनु आवश्यक छ। अब तापक्रम बढ्न थालेपछि हाम्रोमा डेंगुका विरामी पनि देखिन थाल्छ। सामान्य असावधानीले गर्दा वर्षेनि धेरै मानिस यस्ता संक्रमणबाट  प्रभावित हुने गर्छन्‚ त्यसैले यस्ता संक्रमणबाट बच्नु नै उत्तम उपाय हो।’

यो मौससमा धेरैमा टाइफाइड र ज्वरो देखिने गर्छ। साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ।

साल्मोनेला समूहमा धेरै प्रकारका जीवाणु हुन्छन् तर टाइफाइड भएका विरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणु भेटिने गर्छन्।

त्यसैले खानपानमा विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकहरु सुझाव दिन्छन्। सामान्यतया यो मौसममा हेपटाइटिस ए, बी जस्ता संक्रमणबाट धेरै जना प्रभावित हुने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.