|

काठमाडौँ : नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको बताउँदै कला संरक्षणमा सधैँ सहकार्य गर्न इच्छुक रहेको बताएकी छन्।

काठमाडौँमा आज (शुक्रवार) शुरु भएको तीनदिने ‘कलाशाला’ को उद्घाटन गर्दै उनले दुई दशकभन्दा बढी समय नेपालसँग युरोपेली संघले सहकार्य गर्दै आएकामा खुशी व्यक्त गरेकी थिइन्।

“नेपालसँगको सहकार्य गहिरो हुँदै गएको छ”, उनले भनिन्, “हाम्रो सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ।”

इन आर्ट वर्ल्डको आयोजनामा पहिलोपटक नेपालमा ‘कलाशाला’ भएको आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले जानकारी दिइन्। 

प्रिन्ट मेकिङ, चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, परम्परागत कलालगायत कलाका विभिन्न विधालाई समेटेर एकै थलोमा कार्यशाला गरिएको छ। सबै कलाको संयोजनले एकरुपता र आत्मीयताको विस्तार हुने अध्यक्ष भट्टराईले बताइन्।

चैत ५ गतेसम्म हुने ‘कलाशाला’ मा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरानलगायत देशका सय जनाभन्दा बढी कलाकार सहभागी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.