|

इलाम : इलाममा नेपथ्य १२ वर्षपछि आज लोकरक भाका गुञ्जाउँदै छ। २०६८ सालमा फिक्कलको अप्सना चलचित्र मन्दिरमा इलामेलीहरुलाई लोकरक भाकामा झुमाएको नेपथ्य यसपटक इलामको सूर्योदय नगरपालिकाअन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदै छ।

नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्या मन्दिरको परिसर हो। २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरु भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको करफोक मैदानमा हुने सांगतिक प्रस्तुती न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो।

करफोक मैदानबाट ५ किलोमिटर नजिकै रहेको फिक्कलमा २०६८ माघ १ गते नेपथ्यले कन्सर्ट गरेको थियो। त्यसपछि इलामको भुमिका नेपथ्यको कन्सर्ट हुन सकेको छैन्। १२ वर्षअघिको कन्सर्टको तस्बिर थाहाखबरलाई उपलब्ध गराउँदै स्थानीय ज्ञानबहादुर राई पुरानो याद ताजा गराउने अवसर रहेको बताउँछन्। ‘१२ वर्षपछि स्थानीय युवाहरुको सक्रियतामा हल भित्र नेपथ्य गुञ्जिएको थियो अब सल्लाघारी बिचमा खुल्ला मैदानमा झुमाउने अवसर हेर्न आतुर छौँ’ उनले भने

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ। नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरुमा ८० भन्दा बढी साँगीतिक प्रस्तुति दिइसकेको छ। नेपथ्यका लिड भोकलिस्ट अमृत गुरुङ करफोक कन्सर्टमा उत्साहित रहेको बताउँछन्।

‘केही वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरोनिम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ।’

इलाम नगरपालिका–६ को गढीथुम्कामा न्युपी थर्पा छोलिङ गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पुजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ। ‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केहि कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्। कन्सर्टस्थलको गेट ४ बजे खुल्ला गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.