|
रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरस्थित श्री प्राथमिक विद्यालय। तस्वीर : रुपन्द्र पटेल

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा रहेको एउटा सरकारी (सामुदायिक) विद्यालय राजनीतिक अखडा बन्दै गएको छ।

वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी खोरमा रहेको श्री प्राथमिक विद्यालय वृन्दावन राजनीतिक अखडाको बनेको हो।

सो विद्यालयमा व्यवस्थापन समिति गठनमा चर्को राजनीति हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। २०७७ सालदेखि व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा हालसम्म पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन।

पुरानो समितिको पदावधि २०७७ सालमा सकिएपछि पुरानै समितिलाई थप एक वर्ष कार्यकाल चलाउन दिने सहमति अभिभावकहरूले दिएकाले २०७८ सालसम्म पुरानै समितिले निरन्तरता पाएको थियो।

तर पुरानो समितिको समय अवधि समाप्त भएपछि व्यवस्थापन समिति चयन गर्नै सकस परेको छ।

गत आर्थिक वर्ष ०७९/८० मा सो विद्यालयले तीनपटक अभिभावक भेला गरे पनि राजनीतिक दाउपेचले समिति गठन हुन सकेको छैन। चालु आर्थिक वर्षमा पनि अहिलेसम्म तीनपटक अभिभावक भेला डाकियो तर समिति गठन हुन सकेको छैन।

अब चौथोपटक अभिभावक भेला गर्ने तयारीमा रहेको वृन्दावन प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र चौधरीले बताए। व्यवस्थापन समिति नहुँदा सो विद्यालय यतिवेला अभिभावकविहीन नै बनेको छ।

अध्यक्ष पदको लडाइँ र राजनीतिक दाउपेचका कारण व्यवस्थापन समिति गठन नहुँदा सो विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले मनलाग्दी आउने र जाने गरेको अभिभावकहरू बताउँछन्।

शिक्षक शिक्षिका आए पनि विद्यालयमा मोबाइल चलाएर मात्रै बस्ने गरेको गुनासो विद्यार्थीहरूको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.