|
तस्वीर सौजन्य : राष्ट्रिय खेलकुद परिषद (राखेप)

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कले आज (मंगलवार) राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग भेट गरेका छन्। 

भेटमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको छ।

भेटमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्षस्थानलाई आगामी दिनमा पनि निरन्तरता दिन प्रयासरत रहेको बताउँदै क्रिकेटका पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए। 

सदस्यसचिव घिसिङले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको पनि जानकारी आईसीसी अध्यक्ष बार्कलेलाई गराए। 

घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यू–१९ महिला टी–२० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद दिए। 

"अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रो सहयोग गरेको जानकारी पाएको छु। हामीले पनि आईसीसीबाट यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ। हाम्रोतर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौँ‚" उनले भने‚ "विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद।"

सदस्यसचिव घिसिङले नेपालमा अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउँदै सकेसम्म धेरै अन्तरराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइदिन अध्यक्ष बार्कलेसँग आग्रह गरे।

उनले नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे। 

आईसीसी अध्यक्ष बार्कलेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्रोत र साधनका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए।

अध्यक्ष बार्कलेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा आईसीसीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

आईसीसी अध्यक्ष नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो। घिसिङ-बार्कले भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.