|

काठमाडौं :  चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजस्व संकलन भएको छ।

त्यस अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो। यसरी हेर्दा दैनिक करिब ३८ लाख ७३ हजार रुपैयाँ राजस्व उठ्ने गरेको छ। 

उक्त राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णाली प्रदेशबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रूपैयाँ संकलन भएको हो।

यसैगरी, ट्रक/ट्याङ्करबाट १५ करोड १९ लाख ९५ हजार ४००, बस/मिनिबसबाट ९ करोड २० लाख ५००, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार,  मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६०० रूपैयाँ राजश्व संकलन भएको हो।

राजस्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारीचालक अनुमति पत्र नभएका लगायतका कारबाही गरेबापत उक्त रकम राजस्व संकलन गरिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, 'प्रहरीले जरिवाना मात्र गर्दैन। सकभर कारबाही नहोस् भन्ने चाहन्छ। यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौँ। सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ।'

सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये  ट्रक/ट्याङ्कर १ लाख ७० हजार ८४२ वटा,  बस/मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्।  कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको तथ्याङ्कले देखाउँछ।

ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको छ।

प्रचलित कानुन तथा सांगठनिक नीतिअनुरूप प्रहरीले सरोकारवाला निकायसँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान संचालन गर्दै आइरहेको प्रहरीले जनाएको छ।

दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन्। सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही तथा जरिवानाबाट राजस्व संकलन हुने गर्छ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, 'कानुन कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौँ। सडक सुरक्षालाई प्राथमिकता राखेका छौँ। प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौँ। नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली लगायतका कार्यहरूबाट समेत राजस्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ।'

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसुरअनुसार ५०० रूपैयाँदेखि ट्राफिक प्रहरीले  कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.