|

अहिलेसम्म पृथ्वीमा प्रकतिमाथि विजय हासिल गर्ने एक मात्र प्राणीको रूपमा मानिसले आफूलाई उभ्याउने कोसिस गरिरहेको छ। मानव नै त्यस्तो प्राणी हो जुन प्रगतिशीलता र गतिशीलताको पर्यायी बनिसकेको छ।

पृथ्वीको उत्पत्ति कालदेखि हालसम्म विभिन्न जीवहरूको सृष्टि हुने र समाप्ति हुने क्रम भए तापनि मानव जाति आजसम्म विकसित बन्ने क्रममा छ।

पृथ्वीको आयु कति छ भन्न सकिन्न तर यसको आयुलाई समेत प्रभाव पार्ने आशंकाका साथ मानव विकासको गति अघि बढिरहेको देखिन्छ।

आजको युग विश्वव्यापीकरण र भूमण्डलीकरणको युग हो। यसलाई विद्युतीय युग पनि भन्न सकिन्छ। समयको विकास र गतिसँगै बालबालिकाहरूको सिक्ने विषयवस्तु र सिक्ने तौरतरिकाहरू पनि फरक हुँदै जानु स्वाभाविक हुन्छन्। वर्तमान नेपाली समाजको रुपान्तरण एक फरक र अस्वाभाविक रुपमा अघि बढिरहेको छ।

व्यक्ति व्यक्तिको धारणाले सामाजिक धारणासमेत बनाउँदो रहेछ। नेपाली समाज लामो समयसम्म लगभग एउटै ढाँचामा चलिरह्यो। तर, छोटो समयको अन्तरालमा समाजमा विविध खालका परिवर्तनका स्वरूप देखापरे। यसमा विज्ञान प्रविधि र सूचना सञ्चारको मुख्य योगदान रहेको छ।

मानिसहरू विकासका फाइदा उपयोग गर्ने सिलसिलामा शहरमुखी भए। फेरि आज त्यही गतिमा विदेश पलायन हुने कार्यसमेत भइरहेको छ। अभिभावहरूको यस्तो कार्यसँगै बालबालिकाहरूलाई मध्यनजर गरी नयाँ व्यवस्थापनका उपाय अपनाउनुपर्ने समय आइसकेको छ।

हिजो बालबालिकाहरू सहज रूपमा आफसेआफ सामाजिकीकरण भएको पाइन्थ्यो। तर, अहिले बढ्दो शहरीकरणको प्रभावसँगै गुम्दो सामाजिकीकरण हुने खतरा निकट भविष्यमा आउँदै छ।

सात पुस्तासम्म नातागोतासँगको सम्बन्ध अपेक्षा गर्ने समाज आज दुई पुस्तासम्म पनि जोडिन चाहँदैन।

हुर्कंदै गएको पुस्ताले क्रमश: राष्ट्रप्रेमको भावनाको पनि महसुस गर्दैनन्। उनीहरू  आफू हुर्किंदै गर्दा कुनै स्थानको विशेष माया रहने अवस्था अब सायद नआउला किनभने बाक्लो शहरको चेपिएको घर र साँघुरो कोठाभन्दा बाहेक उनीहरूसँग अरू अनुभव हुने अवस्था केही छैनन्।

बालबालिकाहरूको पर्याप्त शारीरिक र मानसिक विकास हुन  थुप्रै अवसरहरू दिनुपर्ने हुन्छ। अहिले राम्रो अंग्रेजी बोल्न सक्ने बनाउने र परीक्षामा राम्रो जिपिए ल्याए पुग्ने मानसिकता तमाम अभिभावकहरूमा झाँगिएको छ। यसले बालबालिकाहरूको अधिकार हनन हुँदै छन्।

बालविकासको लागि टोल टोलमा खेलमैदान चाहिन्छ। बालउद्यान  चाहिन्छ। तर, यसको बारेमा न अभिभावक न सरकार न अन्य सरोकारवाला निकायको ध्यान नै देखिन्छ।

चापयुक्त बस्तीको व्यस्त सडकमा बालबालिकाहरू शारीरिक अधिकार उपयोग गर्न बाध्य छन्। जसको कारण अनपेक्षित दुर्घटनाहरू पनि दिनहुँ सुन्न र भोग्नुपरेको अवस्था छ।

बालबालिकाहरूलाई मनोरञ्जनका थुप्रै अवसरहरू प्रदान गर्नुपर्ने हुन्छ। अहिले घर,कोठा अनि विद्यालयभन्दा बाहिर जान नदिनु नै सर्वोत्तम भलाई ठान्ने अभिभावकहरूका कारण सिकाइका कैयौँ प्रत्यक्ष तथा अप्रत्यक्ष अवसरहरूबाट लाखौँ बालबालिका वञ्चित हुँदै छन्।

गाउँघरमा स्थानीय खेल खेल्दै गर्दा सामाजिक अनुशासन, स्नेह, माया, प्रेम, सम्बन्ध, सद्भाव, आपसी सहयोग लगायतका थुप्रै कुराहरू प्राप्ति हुन्थे। जसले आपसी विश्वास, सहयोग, सहभाव, सभानुभूति लगायतका पक्ष बलियो बन्दै जान्थे।

स्थानीय परिवेशअनुसार पौडी खेल्ने, रूख चढ्ने, भीरपाखामा जाने, उकाली ओराली गर्ने लगायतका कार्यहरूले उनीहरूलाई देखिने गरी पैसा वा नम्बर वा अन्य कुनै लाभ प्राप्ति नभए पनि शरिर बलियो बन्ने, खाना रुच्ने र पच्ने लगायतको थुप्रै प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाहरू प्राप्ति हुने गर्दथे।

आजको सन्तुलित खानाको नाममा खाइएका विषादी मिश्रित असन्तुलित खानाका कारण अनावश्यक मोटोपन बढेर गएको छ। सानै उमेरमा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरेल लगायतका अस्वाभाविक समस्या देखापर्नुले पनि अहिलेको बसाइ र जीवनशैली अप्राकृतिक छ भन्ने पुष्टि गर्दछ।

हामीले खाने कुराहरू कहाँबाट प्राप्त हुन्छन्? भन्ने कुरासमेत किताबमा रटाएर बसेका छौँ। खुल्ला वातावरणको प्रत्यक्ष अवसरबाट समेत वञ्चित गराउँदै छौँ। आज किताबमा रटाउने कैयौँ कुराहरू हिजो देखेर र भोगेर अनुभव गरेर सिकिन्थे। तर, आजको बढ्दो शहरीकरण र शहर बसाइको रहरले सब सम्भावना दूर हुँदै गएका छन्।

पढाइमा अब्बल बनाउने नाममा खाना बनाउने, आफ्नो घरको सरसफाइ गर्ने, व्यक्तिगत सरसफाइका कामलगायत आधारभूत काम गर्नसमेत नलगाउने कारण बच्चाहरूमा आत्मनिर्भरताका आधारभूत सीपहरू पनि छैनन्।

घरायसी सानातिना कामहरू पनि गर्नुपरेको छैन। यसले वर्तमानमा त छोराछोरीलाई सुखले हुर्काएको भान सबै अभिभावकहरूमा होला तर यसको दीर्घकालीन असर धेरै हुँदै जानेछन्।

यसरी बाध्यतावश बालबालिकाको उज्ज्वल भविष्य निर्माणको खातिर गाउँघरका आफ्ना व्यक्तिगत र नियमित कामहरू छाडेर गाउँ बस्ती शून्य पारेर, बारीजग्गाहरू अनुत्पादक बनाएर शहर पस्ने बाध्यता, लहड र लहैलहैको अन्त्य गर्नु अहिले स्थानीय सरकारको मुख्य दायित्व छ।

शिक्षाको गुणस्तर गाउँमा भन्दा शहरमा राम्रो हुनुपर्ने कुनै कारण नै छैन। समान पाठ्यपुस्तक, समान पाठ्यक्रम समान प्रकृयामा छनौट भएका शिक्षकहरूले सबैतिर समान गुणस्तर दिन सक्नुपर्छ। यसमा सम्बन्धित निकायको ध्यान बरोबर जानु पर्दछ।

गाउँघरमा स्थानीय स्रोतसाधन पर्याप्त छन्। बालबालिकाको सिकाइलाई विद्यालय मात्र अन्तिम विन्दु मान्नु हुँदैन। विद्यार्थीका सिकाइ र विविध जिज्ञासाहरू विभिन्न अवस्थामा विभिन्न स्थानमा उत्पन्न हुन सक्छन्। ती जिज्ञासा मेटाउन सिक्न र सोध्न जाने ठाउँको रूपमा विद्यालय जाने अवस्था बन्ने हो भने सिकाइ प्रभावकारी दिगो, व्यावहारिक र मागमा आधारित हुने थियो।

यसर्थ सिकाइको मुख्य थलो शहर हो भनेर भन्ने हुइँयाको अन्त्य गर्दै बालबालिकाहरूलाई सिकाइको फराकिलो विद्यालयमा फर्काउन र स्वस्थ जीवनशैलीको पुनः सुरु गर्नु आजको  आवश्यकता बनेको छ।

आफ्नै सुन्दर गाउँबस्तीमा बसेर पनि अहिले विश्व जगतमा भएका ज्ञान, विज्ञान, प्रविधि र सूचना सञ्चारको सिकाइ हुनसक्छ। यसमा सम्बन्धित सबै पक्षहरूको बेलैमा ध्यान जानु आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.