|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआए पनि मोर्चा कायम रहने बताएकी छन्। शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागी नभए पनि मोर्चा कायम रहने बताएकी हुन्।

उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन्। उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताइन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै बृहत् हुनसक्ने बताइन्। उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने बताइन्।

उनले भनिन्, ‘अहिलेको सहकार्यमा समाजवादी मोर्चामा नभएकामध्ये नयाँ दलहरु हुनुहुन्छ। त्यसैले उहाँहरूसँग पनि समझदारी गरेर यसलाई अगाडि बढाउने कुराको, विद्यमान मोर्चा अगाडि बढाउने कुरा पनि भयो। सम्भव भयो भने अरु पनि सहभागी हुन सक्नुहुन्छ। तर सरकारमा एक ठाउँ हुने, मोर्चा अर्को ठाउँमा हुँदाखेरी आपसमा कुनै त्यस्तो असमझदारी नहोस् भन्नलाई छलफल नभइसकेको बेला रहेछ। हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटि नेकपा (एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ। त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ। एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भने पनि (एमाले) ठिकै छ। तर नआए पनि हामी यो मोर्चालाई अगाडि बढाउँछौँ।'

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन्।

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताइन्। उनले आगामी दिनमा वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.