|

चैनपुर : ५२ वर्षीया दूधकला सार्की एक दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन्। 

रोगको निदानका निम्ति पटक-पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सक देखेपछि सोध्न नसकेर फर्कँlदा रोगले च्याप्दै गएको थियो। अहिले स्त्रीरोग विशषेज्ञ डा. कविता साह आएपछि उनको समस्या समाधान भयो।  ‘धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए’, उनी भन्छिन्, ‘पुरूष डाक्टर भएपछि निकै अप्ठेरो लाग्ने रहेछ। अहिले महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ।’

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो। गत साता डा. साहको टोलीले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि उनले पुनर्जीवन पाएको बताइन्। ‘१० वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो। भगवान् नै फेला परेजस्तो भयो’, उनले भनिन्। लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन्।

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको छ। तल्लो पेट दुख्ने, महिनावारी गडबडी हुने, रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनले शल्यक्रिया गरेपछि समस्याबाट मुक्ति पाउनुभएको छ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा साह बताउँछिन्। ‘आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ। सदरमुकाममा बस्ने महिलाले नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् ?’ उनले भनिन्।

डा साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन्। ‘म आएको दुई महिना हुन लाग्यो। दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ’, उनले भनिन्, ‘पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न।’ यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ।

दुई महिनाको बीचमा डा. साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ। उनी चेतना अभावका कारण महिलाले रोग पालेको बताउँछिन्। ‘जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो’, उनले भनिन्। ‘आफ्नो समस्या कसैलाई सुनाउँदा इज्जत जाने डरले कसैलाई नभन्ने रहेछन्। आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन्।’

डा साह बझाङ आएपछि भने बिरामीमाआशा पलाएको  छ। आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उहाँहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज विशङ्खले बताए। 


डा. विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन  । डा साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उहाँले बताउनुभयो।
–––

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.