|

काठमाडौँ : नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र  जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।

संघले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज (मंगलवार) पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख ६ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै २ लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिए। 

पहुँच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्दै अध्यक्ष पन्तले भने, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्छु।”

महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित ४ करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील संघलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

नेपालमा ४५ वर्षअघि ५ जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन्। 

अहिले मित्रराष्ट्र भारत, बंगलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको संघले जनाएको छ।

प्रविधिको विकाससँगै करिब दुई दशकभन्दा अघि ७ दिन लाग्ने आँखाको शल्यक्रिया अहिले २ दिनमै सम्भव भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.