|

धनकुटा : कोशीका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय स्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन्।

सम्पर्क कार्यालय स्थापनापछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन्।

सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनशिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिषा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, एन्जिला तुम्बाप्पोसहित प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपैयाँ नगदले सम्मान गरिएको छ।

मलेशियामा सम्पन्न आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनशिप २०२३ मा स्वर्ण विजेता सजिना तामाङलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

मुख्यमन्त्री कार्कीले चीनमा सम्पन्न १९औँ एशियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता खेलाडीकी मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २/२ लाख रुपैयाँसहित सम्मान गरेका छन्। 

सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ नगद २ लाख रुपैयाँ र कदरपत्रसहित सम्मानित भएका छन्।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेट प्रबन्ध गरेको उल्लेख गरेका छन्। 

खेल कक्षाकोठा बाहिरको सिकाइका साथै रोजगारीको स्रोत पनि भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तरराष्ट्रिय स्तरमा भएका खेलका विजेताई सम्मान गर्ने कार्ययोजना बनाएको मुख्यमन्त्री कार्कीले बताएका छन्। 

उनले प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्ययोजना बनाएर अन्तरराष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादन गर्न प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.