|

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गरेका छन्।

बिहीवार काठमाडौँमा याडिया जी–६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन राखे पनि अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न ठाउँमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए।

उनले एकै ठाउँमा चार्जिङ स्टेशन बढी भएकाले यससम्बन्धी नीति बनाइदिन लगानीकर्ताहरूले आग्रह गरिरहेको बताए। धुलिखेलदेखि सिन्धुली बर्दिवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको बताए। उनले चार्जिङ स्टेशनमा गरिएको लगानी पेट्रोलपम्पमा गरिने लगानीभन्दा ठूलो हुने बताए।

उनले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको बताए। उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भए पनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए।

घिसिङले भने, ‘शुरुमा हामीले प्रमोशनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेशन राखेका थियौँ। अहिले निजी क्षेत्र र विद्युत् प्राधिकरण गरी करिब ४ सयवटा फास्ट चार्जिङ स्टेशन देशभर छन्। म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानीकर्तालाई फास्ट चार्जिङ स्टेशनमा सबैले लगानी गर्नुपर्छ।’

उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्ने गरी विकास गर्न आवश्यक रहेको बताए। ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताए। याडिया जी–६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ। यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ। यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ। फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ।

फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ। फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन्। कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दासम्मको वारेन्टी दिएको छ। याडिया जी–६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.