|

बैतडी : धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह ए बाट आज (बिहीवार) डडेल्धुराको आलिताल गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

आज सम्पन्न लिग चरणको अन्तिम खेलमा आलितालले पुनर्वासलाई ४ विकेटले हरायो। पुनर्वास आज पराजित भए पनि यसअघिका २ खेल जितेकाले अंकतालिकाको दोस्रो र ३ खेलबाटै २ जित हात पारेको आलिताल नेट रनरेटमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगे। 

३ खेलबाटै २/२ खेल जितेका टिकापुर र घोडाघोडी नगरपालिका भने नेट रनरेटमा पछि परेर प्रतियोगिताबाट बाहिरिए।

जितका लागि पाएको १०३ रनको लक्ष्य आलितालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा राजु रिजालले सर्वाधिक ३५ रन बनाए।

पुनर्वासका सचिन भट्टले २ विकेट लिए। 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुनर्वास १९.२ ओभरमा १०२ रनमा समेटियो। 

उसका लागि विपिन रावलले २४, यम कार्कीले २१, निशान्त बुढाऐरले १७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आलितालका लागि ३ विकेट हात पारेका विरेन्द्र चन्द म्यान अफ द म्याच चुनिए। 

यसअघि समूह बी बाट डडेल्धुराको परशुराम नगरपालिका र डोटीको शिखर नगरपालिका सेमिफाइनलमा पुगिसकेका छन्।

प्रतियोगिताका सेमिफाइनल खेलहरू भोलि (शुक्रवार) हुनेछन्।

पहिलो सेमिफाइनल खेलमा आलिताल र शिखर भिड्दा दोस्रोमा पुनर्वास र परशुराम आमनेसामने हुनेछन्।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गते शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिका सहभागी रहेका छन्।

प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताए।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.