|

निशा गुरुङ

हेटौँडा : बागमती प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिवार साँझ प्रदेश प्रमुख कार्यालयमा भएको समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट थपलियाले शपथ लिएका हुन्। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको रिसफारिसमा शपथ ग्रहण गराएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए। थपलिया दोस्रोपटक मन्त्री बनेका हुन्। २०७९ पुस २६ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए। सत्ता गठबन्धन फेरबदल भएसँगै थपलियाले १० चैतमा राजीनामा दिएका थिए। 

माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न ढकालका अनुसार आज नेता थपलिया मात्रै मन्त्री नियुक्त भएको र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ। एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ। रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन्।

१२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेको छ।

को हुन् जगन्नाथ थपलिया ?

विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका हुन्।

२०१३ साल साउन २० गते जन्मिएका थपलियाका बुवा धर्मानन्द थपलिया र आमा प्रममाया थपलिया हुन्। उनी २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका हुन्। थपलिया २०३१-२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेशन केन्द्रमा आबद्ध भएका थिए। 

उनको सक्रियतासँगै २०३६ सालमा मीनभवन क्याम्पसको स्ववियु सभापति भएका थिए। २०३९ सालमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो। मुद्दाका कारण थपलिया केही समय केन्द्रीय कारागारमा बसेका थिए। थपलियाले पटकपटक गरी ५ वर्ष जेल जीवन बिताएका छन्।

राजनीतिलाई कमाइको पेसा बनाउनु हुँदैन भन्ने थपलिया शुरुमा शिक्षण पेसामा आबद्ध थिए। उनले जनजीवन मावि खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गरेका छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर उनले २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुख थिए। यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेशन चितवनका संस्थापक अध्यक्ष पनि भए।

उनी २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटीको नेतृत्वमा पनि रहे। २०४६ र २०६२।०६३ मा नेतृत्वदायी भूमिका खेलेका थपलिया २०७३ सालदेखि करिब साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका थिए।

थपलिया २०७९ पुस १४ गते नेकपा एमाले बागमती प्रदेशसभाको दलको नेता चयन भएका थिए भने पुस २६ गते तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगरपालिका इन्चार्ज एवं पार्टीको केन्द्रीय शिक्षा विभाग उपप्रमुखको रूपमा पार्टीमा क्रियाशील छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.