|

काठमाडौँ : वैदेशिक रोजगारका लागि क्यानाडा पठाइदिने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज (आइतवार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। 

“बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रुपैयाँ रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो‚” उनले भने।

मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी पोखरेलले बताए।

यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न कम्पनीका मोबाइलहरु राजस्व/भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा राजस्व छलीका मोबाइलसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेका सूचना अधिकारी उपरीक्षक पोखरेलले जानकारी दिए। 

उनका अनुसार ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइल राजस्व/भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लको टोलीले निज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका १५ लाख मूल्यका ३५ थान मोबाइलसहित निजलाई पक्राउ गरेको हो।

छलीमा संलग्न रहेका योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको सूचना अधिकारी पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.