|

काठमाडौँ : पाँच अर्ब १८ करोडभन्दा बढी कर छली गर्ने अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिले अर्को कम्पनी खडा गरेर खारेजीको प्रक्रियामा जान निवेदन दिएको खुलासा भएको छ। 

खारेजीमा जाँदै गरेको कोटीभिटीको प्रक्रिया रोक्न आज राजश्व अनुसन्धान विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ । 

नेपाल इन्फानाइट कम्प्युटर सोलुसन नामक नयाँ कम्पनी खडा गरेर कोटीभिटी खारेजीमा जान लागेको सूचना पाएपछि विभागले आज कम्पनी रजिष्ट्रारको कार्यालयलाई खारेजी रोक्न भनेको हो। 

विभागले हिजो आइतवार मात्रै कोटीभिटीविरुद्ध कुल १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६ सय ४२ रुपैयाँ रुपैयाँ बिगो र जरिवाना माग दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। 

कोटीभिटीले खारेजी प्रक्रियामा जान अडिटर र लिक्विडेटर नियुक्ति गरिसकेको पाइएकाले खारेजी रोक्न जानकारी गराएको विभागका अनुसन्धान अधिृकत केदार कोइरालाले थाहाखबरलाई जानकारी दिए।

नेपालमा कारोबार गरेर कर छली गरेको कोटीभिटी कम्पनी ऐनको दफा १२६ अनुसार खारेजीमा जान लागेको हो। कर छलीमा अनुसन्धान भएको सुईंको पाएलगत्तै अर्को कम्पनी खडा गरेको समेत खुलेको छ।

अमेरिकी कम्पनी भएकाले कोटीभिटीले उद्योग विभाग र नेपाल राष्ट्र बैंकबाट सहमति लिनुपर्छ। 

कम्पनी घाटामा गएको भन्दै खारेजीमा जाने प्रक्रिया थालेको कोटीभिटीविरुद्ध भोलि या पर्सी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी पठाउने विभागको तयारी छ।

विश्वका विभिन्न देशमा कार्यालय स्थापना गरेर सफ्टवेयर डेभलपमेन्टको काम गर्दै आएको इन्फानाइट कम्पनीले पनि कोटीभिटीको जस्तै काम गर्छ । कोटीभिटी नेपालमा काम गरिरहेकाहरू इन्फानाइटमा सिफ्ट भएका छन्।

विभागले कोटीभिटी कम्पनीले आफूमा रहेको निहित शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषय जानकारी नदिइ ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै कानुनअनुसार उक्त रकमको दोब्बर हुने १० अर्ब ३६ करोडभन्दा बढी सजाय माग दाबी गरी हिजो उच्च अदालतमा अभियोगपत्र दयार गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.