|

पर्वत : जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती हत्या घटनामा प्रहरीले कुकुरसहितको विशेष टोलीबाट अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ। 

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट विशेषज्ञ चिकित्सक र तालिम प्राप्त कुकुरसहितको विज्ञ टोली आएर घटनाको अनुसन्धान सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताए।

सोमबार राती करिब नौ बजेसम्म दम्पती घरभित्रै कुराकानी गरिरहेको भए पनि मङ्गलवार बिहान भने हत्या गरिएको जस्तो अवस्थामा मृत भेटिएका थिए। 

एउटा शव घोप्टो अवस्थामा रहेको अर्को शव खाटमाथि पल्टिएको अवस्थामा रहेको भेटिएको थियो। अवस्था हेर्दा हत्या नै भएको देखिएको वडाध्यक्ष प्रकाश जिसीले बताए।  

उनका अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री बिहान अबेरसम्म पनि घरमा चहलपहल गरेको नदेखिएपछि गाउँलेहरूले खोजी थालेका थिए।

घटनाका बारेमा अनुसन्धान चलिरहेको र प्रमाणहरू खोज्ने काम भइरहेकाले तत्कालै नै शव नउठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुसालले बताए। 

घटनाको खबर लगत्तै घटनास्थलमा पुगेको पर्वत प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गर्दै अनुसन्धान थालेको थियो। पातलो बस्तीमा रहेको सूर्यबहादुरको घर वरवर छिमेकीका दुई वटा मात्रै घर रहेकाका बस्ती सुनसान नै रहने गरेको स्थानीयले बताएका छन्। 

मृत दम्पतीका तीन छोरामध्ये दुई जना रोजगारीको लागि दक्षिण कोरियामा छन् भने एक जनाले म्याग्दी सदरमुकाम बेनी बजारमा व्यवसाय गरिरहेका छन्। 

गाउँमा एक्लै रहेका बाबुआमाले म्याग्दीमा रहेका छोरा बुहारीसँग दैनिक जसो फोन सम्पर्क गर्ने गरेको भए पनि मङ्गलवार बिहान भने घरमा फोन नउठेपछि उनीहरू घरको अवस्थाका बारेमा बुझ्न बेनीबाट गाउँमा पुगेका थिए। उनीहरू पुग्दा बुबा र आमा दुवै जना घरभित्र मृत देखिएका थिए।

घटनास्थल बेनी बजारको केही पर रहेको गलेश्वर मन्दिरबाट पारी र पूर्वपट्टी रहेको राम मन्दिरभन्दा केही मिटर माथि हो। 

उक्त स्थान मल्लाज जाने ‘ट्रेकिङ रुट’मा पर्छ। दम्पती भित्र मृत रहेको भए पनि ढोकाको बाहिरबाट ताला लगाइएको अवस्था रहेकोले कसैले लुटपाट गरेर हत्या गरेको र ताला लगाएर भागेको हुन सक्ने स्थानीयको अनुमान छ। यसबारे कुरा गर्दा प्रहरी नायव उपरीक्षक भुसालले अनुसन्धान नै चलिरहेको बताए।

घरभित्र मृत फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डिएसपी खुमलाल भुसाल नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। मङ्गलवार बिहान साढे ९ बजे घटनाबारे खबर पाएको भुसालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.