|

एकराज भण्डारी

संविधान घोषणाको ८ वर्ष बित्यो। संविधानमा समाजवाद उन्मुख राजनीतिक पद्धति हुने भनेर प्रतिबद्धता पनि गरियो। त्यसको प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, भौगोलिक विविधातायुक्त विशेषतालाई आत्मसाथ गर्छौँ भनियो। विधिताबीचको एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संवर्द्धन र प्रवर्द्धन गछौँ भनियो। वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद सबै प्रकारका विभेद अन्त्य गर्छौँ भनियो र त्यसको निर्देशन सिद्धान्तमा पनि थुप्रै यस्ता विशेषताहरू लेखियो। 

मौलिक हकमा निशुल्क शिक्षा हुन्छ भनियो। निशुल्क स्वास्थ्य हुन्छ, रोजगारीको ग्यारेन्टी गरिन्छ, आवास नहुनेलाई आवासको प्रत्याभूति गरिन्छ, जेष्ठ नागरिक, महिला अधिकार, दलितको अधिकारलाई सुनिश्चित गरिने लेखिएको छ।

यसको नीति निर्देशक सिद्धान्तमा  नेपालको राजनीतिक पद्धति समानुपातिक समावेशी चरित्रको हुन्छ र समाजवादी आर्थिक चरित्रको समाजवाद उन्मुख आर्थिक नीति हुन्छ भनियो। लाग्छ, संविधान पढ्दा अर्को समाजवादी मोर्चा बनाउनै पर्दैन, यही संविधानभित्र सबै समाजवादका कुरा अटाइएको छ। 

तर त्यो लागू कसरी हुन्छ ? एउटा उखान मैले सम्झेको थिएँ। फलानो मान्छे धेरै राम्रो छ, खाली एउटा झुट कुरा मात्रै बोल्छ। अरु त सबै गुणले युक्त छ भन्या जस्तै संविधानमा यी विशेषतैविशेषता छन् समाजवादका तर त्यो लागू हुने विधि के हो ? संविधानमै लेखिएको त्यसको विधि के भने बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक संसदीय शासन प्रणाली।  

संविधानमा लेखियो जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकुल हुनेगरी संविधान संशोधन हुँदेन। म पनि त्यो पक्षमा छैन। कोही पनि त्यो पक्षमा छैनन्। जनतामा निहीत सार्वभौमसत्ता बडा दुःखले ल्याएको हो। यसको प्रतिकुल बोल्ने र यसको प्रतिकुल जाने अधिकार कसैलाई हुँदैन। 

तर जनतामा निहीत सार्वभौमसत्ता भनेको के हो ? संसदीय सशान प्रणाली हो भनेर संविधानमा लेखिएको छ। यही कुरा हो मैले यहाँहरूसमक्ष निवेदन गर्न खोजेको। 

अब म मोर्चामा लामबद्धहरूलाई प्रश्न गर्न चाहन्छु, तपाईँहरू सिंहदबारतिर अनुहार फर्काएर मोर्चा बनाउँदै हुनुहुन्छ ०८४ लाई लक्षित गरेर भने बहुलवादमा आधारित बहुदलीय प्रस्पिर्धात्मक लोकतान्त्रिक संसदीय शासन प्रणाली पनि हामी दुई तिहाइ ल्याएर संशोधन गर्न सक्छौँ भन्ने तागत राख्नुहुन्छ ? खुट्टी देखेरै पत्याएँ। 

एक वर्ष अगाडि जनयुद्धका क्रममा भएका ज्यादतीलाई सम्बोधन गर्नका लागि बनाइएको सत्य निरुपन तथा मेलमिलापसम्बन्धी कानुन संसदमा थन्किएको एक वर्ष भयो। पासै हुँदैन। फेरि अहिले संसद पनि अवरुद्धैअवरुद्ध। फेरि एकदुई दिन पछि अधिवेशन समाप्त हुन्छ। 

अनि यो रोकेको कसले छ ? सरकार प्रमुखसमक्ष अनुरोध गर्छु, कसले रोक्यो ? तपाईँले त हाम्रो अगाडि आएर जहिल्यै गर्छौँ, तुरुन्तै गर्छौँ भन्दाभन्दै १६ वर्ष बित्यो। त्यो रोक्नेको नाम भन्दिनुस्। प्रतिपक्षी दलको नेताले रोक्यो भने नाम भन्नुस्, हामी जनतासमम्म त्यो कुरा पर्‍याउँछौँ। गठबन्धनको नेताले रोक्यो भने पनि नाम भन्नुस्। तर गठबन्धनको नेताले पास गर्छौँ भन्छन्, प्रतिपक्षका नेताले पनि पास गर्छौँ भन्छन्। उसोभए त्यो अदृश्य शक्ति कहाँबाट आयो ? 

तपाईँहरू संविधानमा भएको संसदीय शासन प्रणालीलाई निर्वाचनबाट संशोधन गर्न सक्नुहुन्न। यही अदृश्य शक्तिले रोक्छ, लेखेर राख्नुस्। होइन भने समाजवादका आधारभूत चरित्र र यसका  सिद्धान्तका बारेमा कति अर्थ्याइए, कति लेखहरू, किताहरू छन्। त्यो अर्थ्याएर साध्य छैन, पढेर साध्य छैन। अब परिवर्तन गर्ने हो भने तपाईँहरू सकड संघर्षका लागि तयार हुनुस्। 

माओवादीले त्यसबेला ल्याएको समाजवादी संविधानको नमुना थियो। त्यसमा के थियो भने प्रत्याह्वान गर्नुपर्छ गलत गर्नेलाई। त्यो हटाइयो। अब प्रत्याह्वानको व्यवस्था छैन। अब प्रत्याह्वान होइन, सारा नेपाली जनता सडकमा ओर्लिएर खुट्टा बाँधेर घिसार्नुपर्छ। त्यही हो प्रत्याह्वान।   

समाजवादी मोर्चामा साँच्चै जाने हो भने सडकसंघर्षको विकल्प छैन। यदी सारङ्गी ¥याइँ¥याइँ पारेर खाली गन्थनमन्थन गरेर, खाली भाषण गरेर काम छैन। अब समाजवादी मोर्चा अगाडि बढ्ने हो भने त्यता तिर जानुपर्छ। 

आज देशमा कानुन नमान्ने कोही छ भने त्यो संसद छ, सरकार छ, न्यायपालिका छ। संवैधानिक अंगहरू छन्। म पनि कुनै बेला संसदमा थिएँ। त्यो बेला कम्युनिष्ट पार्टीहरूबाटै प्रतिनिधित्व गर्ने ठूला व्यापारीहरू देखेको छु। 

ती नै मान्छे बैंकका मालिक हुन्, उद्योगपति हुन्, ती नै मान्छे बीमाका मालिक हुन् अनि ती नै नीति बनाउने ठाउँमा पनि आइपुगे। यो कस्तो समाजावादी व्यवस्था उन्मुख संविधान भयो ? आज पनि त्यो छ। त्यसैले त बैकिङ कसुरसम्बन्धी विधेयक अहिले पनि अड्केर बसेको छ। पास हुन सकेको छैन नि। अदृश्य शक्तिले त्यसलाई रोकेको छ। 

जनयुद्धका क्रममा म हुम्लामा बस्दाखेरी मसँग सहयोग गर्ने स्थानीय साथी हुनुहुन्थ्यो। कहाँबाट थाहा पाउनुभएछ म वकिल भन्ने। उहाँले भन्नुभयो, कमरेड तपाईँ वकिल हुनुहन्थ्यो पहिला। अहिले जनयुद्धमा लामबद्ध हुन आउनुभयो। तपाईँ वकिल भएर पहिले गरेका सबै पापहरू अब पग्लिने भए। मुक्त हुनुभयो राम्रो गर्नुभयो। त्यो उहाँको न्यायपालिका, वकिलप्रतिको बुझाइ थियो।

आज पनि म भन्छु तपाईँहरूले इमानदार भएर समाजवादमा आउँदा पाप पग्लिन्छ। सही ढंगले आउनु्स्, इमानदार भएर आउनुस्। तर सत्ता समीकरणमा मेरो स्थान कहाँ छ भनेर नआउनस्। पाप लाग्छ। 

परिवर्तनको आवश्यकता हो भाषणको होइन। साँच्चिकै अब गर्ने भए समाजवादमा विश्वास राख्ने सबै एक ठाउँमा आउनुस्। त्यो पाप पखाल्न ढिलै भए पनि केही बिग्रेको छैन। लाज नमानिकन रुपान्तरित हुनुस्। 

र अन्ततः अलिअलि सिंहदरबारतिर फर्किए पनि मोर्चा समाजवादतिर इमानदार हुने हो भने सडक नै हो। सडकको विकल्प छैन। कसैले ¥याल काडेर सिंहदरबारमा बस्ने सोचका साथ यो समाजवादी मोर्चामा हुनुहुन्छ भने बिन्ती छ, अहिल्यै छोड्दिनुस्। त्यो गलत हुन्छ। 

(वरिष्ठ अधिवक्ता एकराज भण्डारीले समाजवादी मोर्चाद्वारा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ अन्तरक्रियामा राखेका धारणामा आधारित
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.