‘वंशवाद अवशेष’को आरोप कसरी चिर्लान्?

|

इलाम : गत भदौ २५ गते सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम क्षेत्र नं.-२ अभिभावकविहीन भएको थियो। सभामुख देवराज घिमिरेले २९ भदौको प्रतिनिधिसभा बैठकमा इलाम २ निर्वाचन क्षेत्र रिक्त भएको घोषणा गरेसँगै दिवंगत नेता नेम्वाङको राजनीतिक उत्तराधिकारीको खोजी सुरु भयो। 

त्यहीबीच देखिए नेम्वाङका कान्छा छोरा सुहाङ। बुबाको निधन हुनुभन्दा एक हप्ताअघि उनी खेलकुदको कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका थिए। अष्ट्रेलिया जानुभन्दा अगाडि सुहाङले बुबासँग राजनीतिक परिस्थितिबारे दुखेसो गरेका थिए। त्यतिबेला उनले न्यायालय बिग्रिँदै गएकामा चिन्ता व्यक्त गरेका थिए। त्यति मात्र होइन, कार्यपालिका र व्यवस्थापिका कतैबाट पनि आश गर्ने ठाउँ नरहेकाले राजनीतिप्रति कुनै चासो नराख्ने बताएका थिए। 

एक सातापछि असोज २ गते गृहजिल्ला इलाममा आयोजित श्रद्धाञ्जलीसभामा सुहाङले राजनीतिमा आउने संकेत देखाए।  ‘बुबाले अधुरो छोडेका कार्य पूरा गर्नुपर्ने कार्यहरूमा म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढ्न सकिन्छ हजुरहरूसँग हातेमालो गरेर अगाडि बढौ भनेर म निवेदन गर्न चाहन्छु’, सुहाङले भनेका थिए।

पछिल्ला दिनमा राजनीति बिग्रिँदै गएको र जनता निराश भएकोमा बुबामा चिन्ता बढेको बताएका थिए। आफू राजनीतिक परिवारमा जन्मे हुर्के पनि त्यसको आधारमा अवसर पाउनुपर्छ भन्ने आफूले नठानेको बताइरहे पनि उनको आशय भने राजनीतिमा पाइला चाल्ने थियो।

‘राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएका कार्य कसरी अगाडि बढाउन सकिन्छ भनेर हातेमालो गरेर अगाडि बढ्न चाहन्छु’, उनले भनेका थिए। कानुनी पुष्ठभूमिमा हुर्किए पनि बुबा राजनीतिमा पूर्णकालीन भएकाले सुहाङ किताबका कखराभन्दा राजनीतिक कखरासँग छिटो घुलमिल हुन पाए। बुवा राजनीतिमा पूर्णकालीन भएकाले त्यसको रूपरङ र कम्युनिष्ट शब्दावलीसँग पनि परिचित र अन्तरघुलन हुने मौका पाए। ३४ वर्षीय सुहाङको परिवारमा कानुनको तीनपुस्ते साइनो छ।

सुहाङका हजुरबुबा रामबहादुर नेम्वाङ इलाम जिल्ला अदालतका न्यायाधीश थिए। पुख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी भएपनि काठमाडौंको परिवेशमा सुहाङ हुर्किए। निम्न माध्यमिक तहसम्मको शिक्षा उनले ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरे। माध्यमिक तहको शिक्षा जगत मन्दिरबाट सिध्याए। प्लस टु शिक्षाका लागि ज्ञानोदय बालबाटिका रोजे।

त्यसपछि उनको कानूनी शिक्षाको यात्रा शुरु हुन पुग्यो। काठमाडौं स्कुल अफ ल मा बिएएलएलको शिक्षा सम्पन्न गरेपछि उनको अधिवक्ताको बाटो खुल्ला हुन पुग्यो। राजनीतिक परिवारमा हुर्किएपछि घरमा प्राय जसो हुने राजनीतिक छलफल र बहसलाई उनले नजिकैबाट नियाल्ने मौका समेत पाए। समय मिल्नासाथ बुबासँग नेपाली राजनीतिक घटनाक्रम र परिर्वतनको बारेमा छलफलमा जुट्थे।

‘माध्यमिक तह पूरा गर्दा नगर्दै बुबाका शुभचिन्तक कतिपयले कानूनको बाटो पछ्याउन सुझाव दिनुभयो। कतिपयले राजनीतिमै होमिन भन्नुभयो। बुबा कानूनी क्षेत्रबाट आउनु भएकाले कानूनसँग राजनीतिमा समेत रुचि थियो’, उनले सुनाए। बाल्यकालबाटै कम्युनिष्ट पृष्ठभूमिमा हुर्किए पनि २०६८ सालमा एमालेको सदस्यता लिएका हुन्। 

हरेक घटना र परिघटना सिकाइको थलोको रूपमा बताएका सुहाङले यस्तै एउटा घटना स्मरण गरे। चाडबाडको समयमा इलाम जाँदै गर्दा चाउचाउ, बिस्कुट र चुइगम बोकेर आएका बालबालिकामध्ये एक बालकले सुवास नेम्वाङलाई चुइगम किन्न अनुनय गरे। सुवासले चुइगम किने। सुहाङले चुइगमको मोल पाँच रूपैयाँ होला भन्ठानेका थिए। तर ती बालकले ५० रुपैयाँ पो माग्न थाले। बुबाले प्रतिवाद गर्नु हुने सुहाङले ठानेका थिए तर सुवासले ५० कै नोट राखिदिए। आँखै अगाडि बुबा ठगिएको देखेपछि सुहाङ र उनका दिदी मरीमरी हाँस्न थाले। त्यतिबेला सानो यात्रानुभवको रूपमा मात्र लिएका सुहाङले अहिले आएर पाठको रूपमा रहेको बुझे। 

बुबाले भन्नु भएको अझै स्मरण छ ‘मलाई चुइगमको मोल थाहा नभएको हैन। मैले त उसको मेहनतको कदर गरेको हो। बरू तिमीहरू पनि त्यो बालखबाट सिक र सानोतिनो भए पनि काम गर्ने प्रेरणा लिऊ ! सित्तैँ कसैबाट केही नलेऊ। कसैलाई नदेऊ!’ उनले भने ‘अष्ट्रेलियामा भाडा माझ्ने कपडा बेच्ने, जुत्ता बेच्ने, सेन्डविच बनाउने काम पनि गरेको छु। त्यसमा आम्दानी राम्रो हुन्थ्यो। मैले आफूले गरेको कामको बारेमा बुबालाई भन्थेँ। उहाँ खुशी हुनुहुन्थ्यो स्याबास भन्नुहुन्थ्यो। उहाँबाटै काम गरेर जीविकोपार्जन गर्ने प्रेरणा पाएको हो।’ 

इलामको परिवेशसँगको निकटता

गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित छन्। बुबाको पाइला पछ्याउँदै जाँदा कतिपय ठाउँमा आफूले पनि वाचा गरेको उनले सुनाए ‘ चुनावताका बुबासँग इलामका विभिन्न भूभाग घुमेको छु। विकास र समृद्धिका लागि बुबाले गर्नुभएको वाचा अझै मानसपटलमा ताजा नै छ। बुबाको निधनपछि त्यसलाई पूरा गर्ने अभिभारा पार्टीले दिएको छ। त्यसलाई पूरा गर्नकै लागि पनि उम्मेदवार बनेको हुँ।’ उनले भने ‘अरु निर्वाचनमा पनि बुबाको औषधि, लुगाकपडा लगायतका विषयमा चिन्ता लिएर इलाम आउने गरेको थिएँ। तर त्यति धेरै निर्वाचन क्षेत्रमा घुमेको थिइनँ। २०७९ मा  बुबाको साथी भएर मैले इलामका डाँडापाँखा घुम्दा चुनावको रापताप बुझ्ने मौका पाएँ। ’ 

यस्ता छन् प्रारम्भिक एजेण्डा

इलाम–२ मा उम्मेदवार बनेपछि तपाईको एजेण्डा के ? भन्ने प्रश्नमा उनले भने ‘हामी जहिले पनि अभावबाट कुरा गर्छौँ। अब अभावबाट हैन् सम्भावनाको खोजीबाट सुरु गरौँ। इलाममा मात्र हैन, देशभर जति हुनुपर्ने थियो त्यो अनुसार नभएको हौ। अहिलेको आवश्यकता भनेको स्वरोजगार, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्र नै हो। अहिलेसम्मको अवस्थामा आउँदा परिर्वतनका लागि अग्रजहरुले दिएको योगदानको सम्मान गर्दै सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरणका लागि मेरो योगदान रहन्छ।’  

युवा पुस्ताको उर्जा, चेतना र अघिल्ला पुस्ताको अनुभवलाई एकाकार गरेर अघि बढ्न सकेको खण्डमा समाज रूपान्तरण र परिर्वतन ल्याउन सकिने आत्मविश्वास रहेको उनले बताए। नेकपा एमाले कानुनी विभागका सदस्य रहेको सुहाङ कानूनी अड्चनलाई परिमाजर्न गरेर अघि बढ्दा समृद्धि सम्भव रहेको बताउँछन् ‘अहिले हामीले जे पाएका छौँ, त्यसमा विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर त्यससँग जोडिएका कानुनी अप्याठ्यारा केलाएर तीन तहका सरकारसँग सहकार्य गरेर समृद्धिको परिकल्पना गर्दा सबै एकै ठाउँमा उभिए विकास सम्भव देखेको छु।’

सुहाङका चुनौती : वंशवाद र पहिचानविरोधी ‘ट्याग’ 

सुहाङले टिकट पाएसँगै कतिपयले राजतन्त्रको अवशेष भन्दै आलोचना समेत गरेका छन्। यसलाई चिर्दै आफूलाई सक्षम उम्मेदवारका रूपमा उभ्याएर जनता मन जित्नु सुहाङको लागि चुनौती छ। स्व.सुवासले २४ वर्ष लगातार सांसदको रुपमा उभ्याएको इलाम-२ मा कम्युनिष्ट विरासत जोगाउनु अर्को चुनौती देखिएको छ। ‘हेभिवेट’ नेता स्व. सुवासले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई झिनो मतान्तरले हराएका थिए। अहिले खड्का पुनः टिकट लिएर संघीय सांसदको र"पमा आफुलाई चिनाउन आतुर देखिएका छन्। 

सुवासका छोरा हुनु नै सुहाङका लागि चुनौती बनेको छ। तर सुहाङ यसलाई सहज रूपमा लिन्छन्। ‘ पार्टी प्रक्रियामा गएर नै टिकट लिएको हुँ। जिल्ला प्रदेश हुँदै केन्द्रमा मेरो उम्मेदवारी सिफारिस भएको हो। केन्द्रबाट सर्वेक्षणका लागि पठाएर जित्ने उम्मेदवारको खोजी हुँदा मेरो नाम उपयुक्त पात्रको रुपमा देखिएपछि पार्टीले टिकट दिएको हो’, उनले भने।

सुहाङलाई एमालेले उम्मेदवारको रूपमा अघि सारेपछि कतिपयले राजतन्त्रको अवशेष र वंशवादको रुपमा समेत चित्रित गरेका थिए। तर सुहाङ आफू राजतन्त्रको अवशेष नभएर जनताको उम्मेदवार भएको बताउँछन्। ‘वंशवादको अर्थ बुझ्न जरुरी छ। परिवारको सदस्य बित्दा स्वत: परिवारको सदस्यमा शक्ति आउनु वंशवाद हो’, उनले भने ‘मैले जनतासामु जानुपर्छ। उनीहरूलाई आफ्नो एजेण्डामा विश्वस्त गराएर अनुमोदित हुनुपर्छ। मेरो हकमा सिधै शक्ति हस्तान्तरण हुन लागेको होइन।’

बुबाले २४ वर्षसम्म इलाम–२ को विरासतलाई कसरी जोगाउन सक्नुहुन्छ? भन्ने प्रश्नमा सुहाङ इलाम–२ सुवास नेम्वाङको मात्र नभएर एमालेको विरासत रहेको बताउँछन्। ‘इलाम–२ सुवास नेम्वाङको मात्र नभएर एमालेको विरासत भएको ठाउँ हो। सुवास इलामले मात्र हैन् देशले माया गरेको नेता हुनुहुन्थ्यो। योजनाका धेरै काम भएका छन् कतिपय प्राविधिकरूपमा पूरा नभएर काम पूरा गर्ने अभिभारा लिएको छु’, उनले भने ‘ एमालेको पार्टी व्यवस्थित र संगठित छ। सिंगो इलामका मतदाताहरुको आशीर्वाद र माया छ उहाँको सपना पूरा गर्नुपर्ने अभिभारा लिएको छु। त्यसलाई सांंसद बनेर पूरा गर्नुछ।’

सुहाङको चुनौतीको रूपमा युवा उम्मेदवार मिलन लिम्बु समेत हुन्। पछिल्लो समय युवा उम्मेदवारको खोजी भइरहेको अवस्थामा उही उमेर समूहका मिलनले कडा चुनौती दिन सक्छन्। गाउँले परिवेश र इलामे मोटोको सुगन्धमा हुर्किएका हुन् मिलन। उता सुहाङ काठमाडौंको परिवेशमा हुर्किए। इलामसँगको मतदातासँगको निकटता २०७९ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पछि बाट मात्र भएकाले स्थानीय परिवेशसँग घुलमिल हुन संघर्ष गरिरहेका छन्।   

पहिचानको मुद्दा र पहिचानवादी उम्मेदवार इलाम-२ मा भएको कारणले पनि सुहाङको लागि निर्वाचन सहज हुने छैन। कोशी प्रदेश नामाकरण सम्बन्धमा पहिचानवादी एमालेविरुद्ध रुष्ट भइरहेका छन्। पहिचनावादीको साझा उम्मेदवारको रूपमा अघि सारिएका डकेन्द्रसिंह थेगिम निर्वाचनअघि एमाले सम्बद्ध रहेको कारण पनि सुहाङको मत बाँडिन सक्छ। 

सुहाङका लागि सहजता : बलियो पार्टी संगठन

सुहाङको लागि सहजताको भनेको बलियो पार्टी संगठन नै हो। अघिल्लो निर्वाचनमा गठबन्धन विरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमालेको २४ वर्षको  विरासत जोगाएर राखेको छ। पार्टी प्रति कटिबद्ध कार्यकर्ता भएको हिसाबले सुहाङ सैद्धान्तिक मत प्राप्त गर्नेमा ढुक्क छन्। इलाम-२ मा प्रतिनिधिसभा सहित गठबन्धन विरुद्ध २०७९ मा एमालेले एउटा प्रदेशसभा क्षेत्र समेत जितेको छ। 

इलाम र त्यहाँको युवा पंक्तिसँग जोडिन उनले स्पोर्टिङ इलाम फुटबल क्लब स्थापना गरेका छन्। इलाममा असोजदेखि चैतसम्म फुटबलको माहोल हुन्छ। सुहाङ बुबाको निधन लगतै इलाममा हुने गोल्डकप र टोलकपमा पुगेर खेलाडीको हौसला बढाइरहेका थिए। अन्य उम्मेदवार मतदाताको पुग्ने तयारीमा रहँदा सुहाङ ७ महिनादेखि यतै छन्।

बुबा सुवासझैँ सुहाङ वाकपटुताका लागि माहिर छन्। नम्र स्वभावका कारण मतदातालाई चाँडै रिझाउन सक्ने खुबी उनमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.