|

सुनसरी : धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन्। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्। फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताइन्।
    
हरेक बिहानको ७ बजे उनी घरबाट निकेतन गल्ली आउँछिन्। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ। बिहानदेखि बेलुका ८ : ३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ। 

तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउँछिन् अनि आफैँ सुकुटी बनाउँछिन्। त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ। आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताइन्। निकेतन गल्लीमा सुकुटी बेच्दा भेटिएका उनले भने, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्य फाइदा लिन सकिन्छ। धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन्।”

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो। यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उनले बताए। सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ। मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताए। पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ। उनले भने, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ। दुःख गरेको खेर जाँदैन।”

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताए। उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन्। 

धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्छिन्। उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ। सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.