|

बैतडी : बैतडीका करिब एक सय वनमा डढेलो लागेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यहाँका एक सय वनमा डढेलो लागेको हो।

यहाँका दशवटै स्थानीय तहमा रहेका वनमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। 

उनले भने‚ "मातहतका प्रहरी युनिटले संकलन गरेको तथ्यांकअनुसार जिल्लाका एक सय वनमा आगलागी भएको देखिन्छ।"

सबैभन्दा बढी डढेलो जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका वनमा लागेको छ। पाटनका २२ र सुर्नयाका २२ वनमा डढेलो लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

डिलाशैनी गाउँपालिकाका १७, दशरथचन्द नगरपालिकाका १६, मेलौली नगरपालिकाका ९, सिगास गाउँपालिकाका ७, पुर्चौडी नगरपालिकाका ३, शिवनाथ गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिकाका र पञ्चेश्वर गाउँपालिकाका १/१ वनमा डढेलो लागेको प्रहरीको तथ्यांक रहेको छ।

यहाँका वनमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको छ। प्रदूषणले यहाँको जनजीवनसमेत प्रभावित बन्न पुग्नुका साथै अस्पताल र स्वास्थ्यसंस्थाहरूमा विरामीको चाप बढेको छ।

अन्य समयको तुलनामा पछिल्लो केही दिनयता विरामीको संख्या बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर विकले बताए। सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै विरामी नआउने भए पनि गर्मी लागेसँगै अहिले दैनिक रुपमा डेढ सयभन्दा धरै विरामी अस्पतालमा उपाचार गर्न आउने गरेका छन्। 

उनले भने, "अन्य समयको तुलनामा अहिले आगलागी र गर्मीको समय भएकाले उपचार गर्न आउने विरामीको सङ्ख्या बढेको छ। पछिल्लो समय वायु प्रदूषण बढेकाले विरामीको चाप देखिएको हो।"

अस्पताल आउने विरामीमध्ये बढीजसो श्वासप्रश्वास, दम, ज्वरो, पेट दुख्ने, टाइफाइड, झाडापखालाका रहेका जनाइएको छ। 

अहिले गर्मीमा तातो हावा तथा लूबाट लाग्ने रोगबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

वनजंगलमा लागेको डढेलोले वन्यजन्तु संकटमा परेका छन्। साथै चराचुरुङ्गीको वासस्थानसमेत जलेर नष्ट भएका छन्। 

डिभिजन वन कार्यालय बैतडीका प्रमुख डिभिजनल वन अधिकृत दीलिपकुमार यादवले डढेलोका घटना न्यूनीकरण गर्न यहाँका सञ्चारमाध्यमबाट सन्देश प्रकाशन र प्रशारण भइरहेको बताए।

उनले भने, "वनमा आगो नलगाऔँ भनेर यहाँका सञ्चारमाध्यमबाट सन्देश प्रकाशन तथा प्रशारण भइरहेको छ।"

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.