|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

संघीय खानेपानी तथा ढल निकास विभागद्वारा सोमवार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरीय खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन्।

मधेशको दक्षिणी भूभागमा केही वर्षयता पानीको सतह घटेपछि सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएकाले मुख्यमन्त्री यादवले दुवैखाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रहसमेत गरे।

संघीय सरकारले सुनकोशी-मरिन डाईभर्सनको पानीमध्ये केही पानी प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने‚ 'योजना सराहनीय छ। मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ। यो योजना पूरा हुन धेरै समय लाग्छ‚ तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ। मधेशका चापाकल अहिले नै सुक्न थालेका छन्। तत्कालीन योजनाका लागि संघीय सरकारलाई आग्रह गर्छु।’

संघीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्व खानेपानीमन्त्री महेन्द्र राय यादव, मधेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायत वक्ताले मधेशमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ आफ्नो धारणा राखेका थिए।

गोष्ठीमा खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गरे।

उनले सुनकोशी-मरिन डाईभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाई गरि दीर्घकालिन समाधान गर्न सकिने बताए। सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४८८ रुपैयाँ लागत अनुमान उनले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.