|

हेटौँडा : बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम प्रभावकारी बन्न थालेको छ। प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्ष २०८०-८१ मा लागु गरेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएका हो।

चालु आवको माघ महिनाबाट लागू भएको उक्त कार्यक्रम हाल प्रदेशका १३ वटै जिल्लाका ३० वटा विद्यालयमा सञ्चालन भइरहेको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले जानकारी दिए।

उक्त कार्यक्रमले विद्यार्थीहरुमा उत्साह बढाउनुका साथै ड्रपआउट हुने समस्याको पनि अन्त्य भएको निर्देशक सुवेदीले बताए। ‘सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमले विद्यार्थीहरुमा उत्साह बढाउनुका साथै केही सिक्ने र कमाउने बाटो बन्ने भएको छ। यो कार्यक्रम सञ्चालन गरेको छोटो समयभित्रै प्रभावकारी बन्न थालेको छ,’ निर्देशक सुवेदीले भने, ‘अब हामी केही समयमै कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अनुगमनमा जानेछौँ र प्रदेशका थप विद्यालयहरुमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गर्नेछौं।’

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ‘ड्रिम भिजन’ का रूपमा तयार पारिएको उक्त कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को दफा ४ (३) बमोजिमको आधार पूरा गरेका सामुदायिक माध्यमिक विद्यालयहरुलाई छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको निर्देशक सुवेदीले बताए। 

शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कुल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम सञ्चालन गरिएको निर्देशक सुवेदीले जानकारी दिए। कार्यक्रमका लागि प्रति विद्यालयले ६-६ लाख रुपैयाँ पाउने छन्। उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुले पहिलो किस्ता बापत शिक्षा निर्देशनालयले ३० वटै विद्यालयहरूलाई २-२ लाख उपलब्ध गराइएको निर्देशक सुवेदीले बताए।  

विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम सञ्चालन गरिएको निर्देशक सुबेदीले बताए।

सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उनले बताए।

गत आवमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आवमा भने यो कार्यक्रम निर्देशनालयले सञ्चालन गरेको छ। विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा जीविकोपार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताइएको छ।

हाल सञ्चालन भइरहेको विद्यालयहरुमा कृषि, इन्जिनियरिङ सम्बन्धी, पर्यटन उद्योग, वन तथा वातावरण, चित्रकला, सिलाई बुनाई, टपरी बुनाई, अटो मोबाइल, व्यावसायिक क्षेत्र र विद्यालयको हावापानी भूगोलअनुसार विद्यालयले कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.