|

हेटौँडा : ६ महिनाअघि मात्रै हेटौँडा उपमहानगरपालिकाका महिलाहरूले गरेको सामूहिक गुन्द्रुक उत्पादन यतिबेला उदाहरणीय बनेको छ। गत सामूहिक रूपमा साग खेती सुरु गरेर गुन्द्रुक उत्पादन गरेका हेटौँडाका १२ जना महिला टोलीले ‘ब्रान्डिङ’ गर्दै छन्।

उनीहरुले उत्पादन गरेको गुन्द्रुकले सोमबार मात्रै सरकारी मान्यता पाएपछि त झनै हेटौँडामा गुन्द्रुकले छुट्टै चर्चा बटुल्न सफल भएको छ। हेटौंडा उपमहानगरपालिका –१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी समूहले उत्पादन गरेको गुन्द्रुकलाई सोमबार हेटौंडा स्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको छ।

सामूहिक साग खेती गरेर उत्पादन थालेको अर्गानिक गुन्द्रुकले बजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि अब बजारमा समेत पठाउने तयारी गरिएको छ।

करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात् उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलोपटक सरकारी गुणस्तरको मान्यता प्राप्त भएपछि जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लैजान उद्यमीहरू उत्साहित भएका छन्।

तालिमपछि गुन्द्रुक उत्पादन 

उपमहानगरपालिको गत असोजमा गरिबी निवारण समिति र लघु उद्यमी विकाससम्बन्धी ३० जना महिलाहरुलाई तालिम दिइएको थियो। सोही तालिममा सहभागी भएका हेटौँडा –१२ का महिलाहरुले पनि गुन्द्रुक बनाउने तालिम लिएका थिए।

तालिम लिएपश्चात् उनीहरुले सामूहिक रुपमा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामासँग प्रत्यक्ष भेटेरै आफूहरुले पनि केहि व्‍यवसाय गर्ने तयारी गरेको सुनाएपछि लामाले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। सोहीअनुरूप गत असोजमा सम्झौता गरेर उनीहरुले मंसिरबाट उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट अर्गानिक साग उत्पादन गरी गुन्द्रक बनाउन थालेको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताइन्।

अध्यक्ष गुरुङले उपमहानगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रक उत्पादन थालेको बताइन्। गुन्द्रक उत्पादन गर्ने उद्यमी समूहलाई गैरसरकारी संस्थाले पनि आवश्यक सामग्री ड्रम, पाइप, त्रिपालहरू वितरण गरिएको बताइन्।

गुन्द्रुक उत्पादन गरेको छोटो समयमै उनीहरूले हालसम्म १ लाख ७० हजार बराबरको गुन्द्रक बिक्री गरिसकेको अध्यक्ष गुरुङले बताइन्। ‘हामीले जमिन भाडामा लिएर जापानिज मस्ताज भन्ने साग लगाएर उत्पादन गरेका थियौँ। जुन साग नफूल्ने खालको साग हो। अध्यक्ष गुरुङले भनिन्, ‘अब सागको सिजन नभएको कारणले सदाबहार हुने तोरीका साग लगाएका छौँ।’

यहाँ उत्पादित गुन्द्रक प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री गर्ने गरेको उद्यमी समूहका कोषाध्यक्ष देवी खड्काले जानकारी दिइन्। अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन्। अब सरकारी मान्यता पाइसकेपछि भने त्यो समस्याको समाधान भएको खड्काले बताइन्।

हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताएकी छन्। उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.