|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताएका  छन्। चेम्बरको अध्यक्षमा निर्वाचित भएपश्चात् न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्।

नवनिवार्चित अध्यक्ष अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गरे। उनले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजी क्षेत्र समस्यामा रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानको लागि सरकारसँग सहकार्य गर्ने बताए। उनले सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजी क्षेत्र धराशयी अवस्थामा पुगेको बताए। उनले अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजी क्षेत्र समस्यामा परेका कारण पनि भएको दाबी गरे।

अध्यक्ष अग्रवालले मुलुकमा उत्पादनमूलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए। देशभरका सटरहरु खाली गरेर धेरै व्यवसायीहरु विदेश पलायन भएको दाबी उनको थियो।

अध्यक्ष अग्रवालले रोजगारी कटौती हुँदा विदेश जानेहरुको संख्या बढेको बताए। उनले  विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे।

भारतमा कोभिड लगायतका समस्यालाई कुशल व्यवस्थापनमार्फत नियन्त्रण गर्दा जिडिपी ग्रोथ ७ प्रतिशत बढी भएको बताए। उनले राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताए। राजस्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाब खेप्नुपरेको उनको भनाइ छ।

उनले भने, ‘अर्थतन्त्र शिथिल अवस्थामा छ। निजी क्षेत्र धेरै समस्यामा परेको अवस्था हो। कोभिड–१९ को प्रभाव,रुस–युक्रेन युद्वले विश्वमा परेको प्रभावले निजी क्षेत्रको २० प्रतिशत गिरावट भएको अवस्था थियो। केही समयको लागि सरकारका सहज नीतिहरु आए। तर पछि सबै नीतिहरु फिर्ता लिएर संकुचनकारी नीतिहरु आए। त्यसले गर्दा निजी क्षेत्र धरासायी अवस्थामा पुग्यो। अहिलेको शिथिलता आउनुको कारण त्यही हो। अहिले पनि १५० भन्दा बढी व्यवसायीहरु कालोसूचिमा परेका छन्। यस्तो भनेको अर्थतन्त्रको लागि राम्रो पक्ष होइन। मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने पहिलो प्राथमिकतामा छ।’

उनले अर्थतन्त्र लयमा ल्याउनको लागि योजना तथा नीति निर्माण गर्ने निकायहरुबीच समन्वय आवश्यक रहेको बताए। उनले आगामी वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यथार्थपरक आउनुपर्ने जिकिर गरे।

अध्यक्ष अग्रवालले सरकारले गत वर्ष जथाभावी रुपमा व्यवस्था गरेका करका दरहरु पुरानै अवस्थामा फर्काउनुपर्ने बताए। उनले बजेटमार्फत सरकारले अनावश्यक करका दरहरु बढाउन नहुने भन्दै करका दरहरु बढाउँदा व्यवसायीहरु निरुत्साहित हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.